सरकारको नीति तथा कार्यक्रममा स्थानीयस्तरका उद्योगको प्रवर्द्धनलाई प्राथमिकता दिन सांसदहरूको सुझाव

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा संघीय सांसदहरूसँग छलफल थालेको छ।

मन्त्री लेखराज भट्टले मंगलवारदेखि सुदूरपश्चिम प्रदेश र प्रदेश-५ बाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल शुरु गरेका हुन्।

सांसदहरूले सुक्खा बन्दरगाह, औद्योगिक क्षेत्र, औद्योगिक करिडोरको कामलाई प्रमुख प्राथमिकतामा राख्‍न, औद्योगिक ग्राम स्थापनाका गर्ने कार्यविधि लचिलो बनाउन, रुग्ण उद्योग सञ्‍चालन गर्ने वातावरण बनाउन मन्त्री भट्टलाई सुझाव दिएका छन्।

स्थानीयस्तरमै खाद्यान्‍न खरीद गर्ने गरी समर्थन मूल्य तोक्नुपर्ने, गाउँपालिकास्तरमै खाद्य डिपो हुनुपर्ने, रासायनिक मलको आपूर्ति सहज हुनुपर्ने र स्थानीय बासिन्दाको सीपलाई प्रवर्द्धन गरी प्रधानमन्त्री रोजगार कार्यक्रमसँग जोड्नुपर्ने सुझाव सांसदहरूले दिएका छन्।

सुनचाँदीका गहना र भाँडाकुँडा बनाउने उद्योग, कृषि सामग्रीको प्रशोधन गर्ने उद्योगलाई थप परिस्कृत गर्दै जाने तथा सरकारले त्यस्तो सीपलाई मान्यता दिनुपर्ने सुझाव सांसदहरूको छ।

वैदेशिक रोजगारीबाट फर्कनेका लागि अहिलेदेखि नै रोजगारी दिनेतर्फ ध्यान पुर्‍याउनुपर्ने, सीप सिकेर आएकालाई उद्योग खोल्ने सुविधा दिनुपर्ने, स्थानीय तह, प्रदेश र संघीय सरकारलाई क्रमशः साना, मझौला र ठूला उद्योगको जिम्मा दिनुपर्ने, जडीबुटी प्रशोधन उद्योग खोल्नेतर्फ विशेष ध्यान दिने सुझावसमेत सांसदहरूले दिएको मन्त्री भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए।

रासायनिक मलको प्रभावकारी आपूर्तिका साथै प्रांगारिक मलको प्रयोगमा ध्यान दिनुपर्ने, राष्ट्रिय गौरवका आयोजना सातवटै प्रदेशमा राखिनुपर्ने सुझाव सांसदहरूको छ।

मझौला र साना उद्योगलाई संरक्षण दिँदै व्याज मिनाहा र ऋण तिर्ने तालिका सार्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, अल्लो जडीबुटीजस्ता निर्यातयोग्य उद्योग तथा वस्तुको पहिचान गरी निर्यात प्रवर्द्धनमूलक उद्योग स्थापनामा ध्यान दिनुपर्नेजस्ता सुझाव सांसदहरूले दिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्