रोजगारी सृजनामा बजेट केन्द्रित गर्न उद्योग परिसंघको सुझाव

काठमाडौं। नेपाल उद्योग परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर आगामी बजेटमा समेट्नुपर्ने क्षेत्रका विषयमा सुझाव दिएको छ।

परिसंघले रोजगारी सृजना, निजी क्षेत्रको विकास र कृषिसहित साना तथा मझौला उद्योगको विकासमा बजेट केन्द्रित गर्न सुझाएको हो।

सुझावमा विस्तारकारी वित्तीय नीतिसहितको बजेट ल्याउन र पूँजीगत खर्चलाई बढाई समयमा खर्च गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ।

रोजगारी सृजनाका लागि व्यावसायिक कृषिमा लगानी आकर्षित गर्न १० वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाउनुपर्ने परिसंघको सुझाव छ।

सबैखाले (साना तथा घरेलु, मझौला र ठूला) उद्योगको विकासमा लगानी जुटाउन ग्यारेन्टी कोष खडा गर्न पनि परिसंघले आग्रह गरेको छ।

उत्पादनमूलक उद्योगका लागि आवश्यक लगानीका लागि ऋणको लागतलाई आगामी तीन वर्षका लागि कम्तिमा पाँच प्रतिशतले कम गर्न परिसंघले आग्रह गरेको छ।

यस्तै, बजार तरलता थप गर्न भ्याट तथा अन्य कर फिर्तालगायत सरकारले भुक्तान गर्नुपर्ने सम्पूर्ण रकम तत्काल भुक्तान गर्ने व्यवस्था मिलाइनुपर्ने सुझावपत्रमा उल्लेख छ।

चालू आर्थिक वर्षमा घाटामा रहेका उद्योगलाई बढीमा पाँच प्रतिशत पुनर्कर्जाको व्यवस्था गर्नसमेत आग्रह गरिएको छ। त्यसका लागि छुट्टै एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष निर्माण गर्न भनिएको छ।

प्रतिक्रिया दिनुहोस्