नेपालमा व्यावसायिक एमआरओ सेवा सञ्चालनको तयारी

काठमाडौं। वायुयान परीक्षण तथा वायुयानका पार्टपुर्जा मर्मत सम्भार (एमआरओ) नेपालमा व्यावसायिकरूपमा सञ्चालनका लागि पहल थालिएको छ। वायुयानको परीक्षण तथा पार्टपुर्जा मर्मत सम्भारलाई आकर्षक व्यवसायको रूपमा लिइन्छ।

वायुयान मर्मतसम्भारका निम्ति विदेशिने करोडौँ पुँजीको स्वदेशमै उपयोग गरी उड्डयन क्षेत्रलाई प्रोत्साहन गर्ने गरी सरकारले एमआरओ संस्था स्थापनाका लागि पहल थालेको हो।

सार्वजनिक निजी साझेदारी (पब्लिक प्राइभेट पार्टनरसिप) मोडलमा एमआरओ संस्था सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवालासँग छलफल गरेको छ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईसहित मन्त्रालयका उच्च अधिकारी तथा वायुयान सञ्चालक एवं विज्ञहरूसँग आज मन्त्रालयमा भएको छलफलमा एमआरओसम्बन्धी संस्था स्थापनाको अवधारणा, मोडालिटी, लगानी आदिबारे छलफल भएको हो।

त्यसका निम्ति मन्त्रालयले एक कमिटी गठन गरी एमआरओ स्थापनाको प्रक्रिया अघि बढाइने जनाइएको छ।

उड्डयनको क्षेत्रमा राम्रो आर्थिक आम्दानी हुने क्षेत्रमा एमआरओ पर्छ। नेपाली वायु सेवा कम्पनीले यही कामका लागि विदेशमा वार्षिक करोडौं खर्चनु परेको छ।

नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)ले मात्रै वार्षिक चार लाख अमेरिकी डलरभन्दा बढी एमआरओका लागि खर्च गर्ने गरेको छ।

निजी क्षेत्रका वायुसेवा कम्पनीले वार्षिक १५ देखि २० लाख डलर खर्च गर्ने गरेको बताइन्छ।

त्यसो त ६ वर्षअघि अर्थात २०७० मा पर्यटन मन्त्रालयले एमआरओसम्बन्धी संस्था स्थापनाका लागि एक अध्ययन कमिटी गठन गरेको थियो।

पर्यटन मन्त्रालयका सहसचिव सरेश आचार्यको संयोजकत्वमा गठित उक्त समितिले आफ्नो प्रतिवेदन मन्त्रालयलाई बुझाएको भए पनि प्रतिवेदन दराजमै थन्किएको थियो।

प्रतिक्रिया दिनुहोस्