टिकटक किन्न माइक्रोसफ्ट आतुर

काठमाडौं। अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले लोकप्रिय ‘सर्ट भिडिओ सेयरिङ एप’ टिकटकमा आफ्नो ध्यान बढाउन थालेको छ। उसले अमेरिकासमेत क्यानडा, अस्ट्रेलिया र न्युजिलान्डमा पनि टिकटक सञ्चालनको अधिकार लिन चाहेको छ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारदेखि नै टिकटकमा प्रतिबन्ध लगाउने बताएका थिए। तर, आजसम्म त्यो लागू हुन सकेको छैन। यही मौकामा माइक्रोसफ्टले अमेरिका, यूरोपलगायत संसारका विभिन्न मुलुकमा लोकप्रियता कमाएको टिकटक आफ्नो हातमा पार्न तम्सिएको हो।

राष्ट्रपति ट्रम्पले टिकटकमा रहने निजी डाटामा टिकटकको मालिक चीनले हस्तक्षेप गर्न सक्ने आशङ्का गर्दै उक्त एपमा प्रतिबन्ध लगाउने बताएका थिए।

माइक्रोसफ्टले १५ सेप्टेम्बरसम्ममा टिकटकसँगको वार्ता निर्णयमा पुग्ने बताएको छ। कम्पनीका सीईओ सत्या नडेलाले राष्ट्रपति ट्रम्पलाई आइतबार भेटेपछि यस्तो प्रतिक्रिया बाहिर आएको हो। माइक्रोसफ्टले टिकटक प्रयोगकर्ताको सबै डाटा अमेरिकामै रहने व्यवस्था सुनिश्चित गर्ने पनि बताएको छ।

माइक्रोसफ्टले अमेरिकी राष्ट्रपतिको डाटा सुरक्षा चिन्तालाई आफूले सम्मान गर्दै सोही कारण टिकटकमा आफ्नो हिस्सा आवश्यक रहेको प्रतिक्रिया दिएको छ। तर, टिकटकको सञ्चालक कम्पनी बाइटीडान्ससँग माइक्रोसफ्टको सबै कुरा मिलिसकेको छैन।

समाचार एजेन्सी रोयटर्सका अनुसार टिकटकमाथिको प्रतिबन्धलाई लिएर राष्ट्रपति ट्रम्पले ठूलो दबाब झेल्नु परेको छ। उनको आफ्नै पार्टीका नेताहरूले टिकटकमाथि प्रतिबन्ध नलगाउन सुझाव दिएका छन्। सोही कारण दुवै कम्पनीलाई सम्झौताका लागि ४५ दिनको म्याद दिन ट्रम्प तयार भएका छन्।

लोकप्रिय एपलाई अर्को ठूलो कम्पनी माइक्रोसफ्टले किन्ने कुराले विश्वबजारमा चर्चा पाएको छ। टिकटक किन्ने सम्झौता सफल हुन सक्दा माइक्रोसफ्टको ठूलै सफलता मानिने छ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्