सौराहामा होटल खुले ग्राहक आएनन्
काठमाडाैं। चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निरास भएका छन्। होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन्।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साह साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन्। होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीनवटा कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए।
“होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन्,” जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने। सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए।
घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको आवतजावत हुन्छ। बास बस्न ग्राहक आउँछन् भन्ने थियो त्यो पनि भएन।” आउँदो भदौ १ गतेबाट आन्तरिक विमान सञ्चालनमा नआएमा होटल बन्द गर्ने सोचमा आफू पुगेको उनले बताउए।
होटलसँगै रेष्टुराँ पनि खुलेका छन् तर ग्राहक छैनन्। रेष्टुराँ एण्ड बार एशोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडा ग्राहकको आवतजावत अलिअलि भए पनि खाएर बस्ने गरी ग्राहक नआएको बताए।
लामो समयसम्म बन्द गर्नुपर्दा पीडामा रहेका व्यवसायीले जेनतेन खोलेको भए पनि ग्राहक नआएपछि निरास भएको उनको भनाइ छ। शुरुका दिनमा केही उत्साह जगाएको भए पनि देशका ठाउँठाउँमा कोरोना बढ्दै गएपछि त्रासले ग्राहक नआएको उनको भनाइ छ।
सौराहामा १०० हाराहारी रेष्टुराँ छन्। जसमध्ये ५६ वटा रेवानका सदस्य हुन्। आधाभन्दा बढी रेष्टुराँ थोरै कर्मचारी राखेर खुलेका छन्। सौराहामा होटलको सङ्ख्या ११० वटा रहेको छ जहाँ पाँच हजार ५०० हाराहारी कर्मचारी कार्यरत रहेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन्। कोरोनापछि लकडाउनसँगै बन्द भएका होटल साउन १५ गतेबाट सञ्चालनमा आएका हुन्।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्