निन्दा झरनामा गर्मी छल्न आन्तरिक पर्यटकको घुइँचो
मेचीनगर। झापाको काँकडभिट्टाबाट २२ किलोमिटर उत्तर झापा र इलाम जिल्लाको सिमानाका दुई झरना गर्मी छल्न चाहने आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य भएका छन्।

निन्दा नदीको मुहानमा अवस्थित ती झरनामा झापाका युवायुवती दिनहुँ सयौँको सङ्ख्यामा नुहाउन र रमाउन जान थालेका छन्। झापामा गर्मी बढेको हुँदा झरनाको चिसो फोहोरामा नुहाउनेको भीड लाग्ने गरेको मेचीनगर-१ बाहुनडाँगीका वडाध्यक्ष पासाङ तामाङले बताए।

झापाबाट इलामको जिर्मले जाने सडक बनाउँदा स्थानीयले हालै ती झरना पहिल्याएका थिए। झरनामा नुहाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट हुन थालेपछि झरनाको प्रचार भएको वडाका अध्यक्ष तामाङले बताए।

एक साता अघिदेखि बढेको गर्मी छल्न झापाका विभिन्न स्थानबाट दैनिक ५०० बढी युवायुवती यहाँ आउने गरेको हुँदा झरना वरपर पसल बढेका छन्।

यहाँका दुई वटा झरना एक किलोमिटरको अन्तरमा छन्। एउटा इलामबाट झापाको भूमिमा पानी खस्छ भने अर्को इलामकै रोङ गाउँपालिका-६ मा रहेको छ।

पर्यटन अभियन्ता एवं ग्रिन जेनेरेसन झापाका अध्यक्ष अर्जुन कार्कीले झरनामा झुम्मिएको भीडले कोभिड-१९ को कहरका बीच पर्यटकीय आकर्षण नघटेको सावित गरेको बताए। झरना नजिकै निन्दा नदीमा जिर्मले र सलकपुरलाई जोड्ने झोलुङ्गे पुल पनि छ। त्यहाँ पुग्ने आन्तरिक पर्यटक गर्मी छल्न झरनामा रुझ्ने र झोलुङ्गे पुलमा फोटो खिचाउने गर्छन्।

“लकडाउनका कारण चिसो ठाउँमा घुम्न जाने आन्तरिक पर्यटक नै यहाँ आउने गरेका छन्”, अध्यक्ष कार्कीले भने, “यही गर्मीको मौसमदेखि यहाँ मान्छे आउन थाले, यसअघि कोही पनि आउँदैन थिए ।” प्राकृतिकरुपमै सुन्दर रहेको सो स्थानमा आउने आन्तरिक पर्यटकका कारण यो स्थान अब पर्यटकीय क्षेत्रमा रुपान्तरित हुन थालेको उनले बताए।

उनले दुई जिल्लाको दोसाँधमा रहेका झरना सुदूरपूर्वकै नमूना पर्यटकीयस्थल बन्न सक्ने जनाउँदै झापाको मेचीनगर नगरपालिका र इलामको रोङ गाउँपालिकालाई व्यवस्थित गर्न आग्रह गरे। “गर्मीका कारण भरनाको पानीमा खेल्न आउने मान्छेको दैनिक भीड बढिरहेको छ”, उनले भने, “कोभिडका कारण भीडभाड गर्ने अवस्था छैन, नियन्त्रण गर्र्नुपर्ने अवस्था आइसक्यो।”

सो स्थान पुग्नका लागि काँकडभिट्टाबाट बाहुनडाँगीको गाडागल्ली, कृष्ण थुम्की हुँदै जान सकिने मेचीनगर लेडिज जेसिजकी पूर्वअध्यक्ष उषा श्रेष्ठले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्