अलपत्र नेपालीको उद्धार अनिश्चितकालका लागि स्थगित
काठमाडाैं। विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो।

सोही पत्रको आधारमा पर्यटन मन्त्रालयले विदेशमा अलपत्र नेपाली फर्काउन तय गरेको चार्टर्ड उडान आजदेखि स्थगन गरेको छ। हालैको मन्त्रिपरिषद् बैठकले भदौ १ अर्थात अगष्ट १७ तारिखदेखि दैनिक ५०० नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुरुप नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार चार्टड उडान गरी नेपालीलाई फर्काउने तालिका बनाएका थिए।

नेपाल एयरलाइन्सले अगष्ट १७ देखि ३१ र हिमालय एयरलाइन्सले अगष्ट १६ देखि ३० सम्मको उडान तालिका बनाएका थिए।

विदेशमा अप्ठे्यारो अवस्थामा रहेका नेपाली फर्काउन पाँचौँ चरणको उद्धार उडानका लागि सीसीएमसीले ४३ वटा उडान अनुमति दिएको थियो।

कोरोनाको सङ्क्रमण बढिरहेको र विभिन्न स्थानीय तहले निषेधित क्षेत्र घोषण गर्नेक्रम पनि बढिरहेकाले होटल क्वारेन्टिनको व्यवस्था नभएको ब्यहोरा जनाउदै सीसीएमसीले उद्धार उडान स्थगन गर्न मन्त्रालयलाई लिखित निर्देशन दिएको हो।

सीसीएमसीले पर्यटन मन्त्रालयलाई पठाएको पत्रमा होटेल क्वारेन्टिन सुनिश्चत हुने गरी मात्र उडान स्वीकृति दिने तथा यसअघि जारी उडान अनुमति स्थगित गर्न भनिएको छ।

उडान स्थगित भएपछि नेपाल एयरलाइन्सले सूचना निकालेर अगष्ट १८ तारिखदेखि उद्धार उडान अर्को सूचना जारी नभएसम्म हाललाई स्थगित गरिएको जनाएको छ। सीसीएमसीको विवरणमा भदौ १ गतेसम्म विभिन्न मुलुकबाट घर फर्किने नेपालीको सङ्ख्या ५१ हजार ७६१ रहेको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्