मोरङमा ४१ अर्ब राजस्व सङ्कलन

काठमाडाैं। मोरङमा आर्थिक वर्ष २०७६/७७ मा कूल ४१ अर्ब तीन करोड ७६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ।

यो राजस्व आव २०७५/७६ को भन्दा छ अर्ब २० करोड ५८ लाख रुपैयाँले कम हो भने आर्थिक वर्ष २०७४/७५ को भन्दा ६३ करोड ३६ लाखले बढी हो।

आव २०७५/७६ मा कूल ४७ अर्व २४ करो ३४ लाख र आव २०७४/७५ मा ४० अर्ब ४० करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो।

गएको आवमा चैत महिनाको ११ गतेदेखि शुरु भएको बन्दाबन्दीले आर्थिक क्रियाकलाप ठप्प हुनु, निर्माणको कार्य रोकिनु, बजार बन्द रहनुले पनि राजस्व कम उठेको प्रमुख पर्शुराम नेपालले जानकारी दिए।

उनले गएको वर्षमा पूँजीगत बजेट तीन अर्ब ९४ करोड ५६ लाख रुपैयाँमा तीन अर्ब १३ करोड ८७ लाख अर्थात् ७९ दशमलव पाँच प्रतिशत खर्च भएको जानकारी दिए।

सोही वर्ष चालूतर्फ ३१ अर्ब ८० करोड १५ लाख बजेटमध्ये ३१ अर्ब १३ करोड २२ लाख खर्च भएको बताइएको छ। आवमा २०७५/७६ मा कूल ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा रु २९ अर्ब ४४ करोड २१ लाख निकासा भएको थियो।

पूँजीगततर्फ चार अर्ब ७५ करोड ३० लाख वार्षिक बजेटमा तीन अर्ब ५७ करोड ७८ लाख निकासा भएर ७५ प्रतिशत प्रगति हासिल गरेको थियो भने सोही अवधिमा चालू र पूँजीगत गरी कूल ३५ अर्ब ६० करोड पाँच लाखमा रु ३३ अर्ब एक करोड ९९ लाख निकासा भई ९३ प्रतिशत प्रगति हासिल भएको थियो।

रासस

प्रतिक्रिया दिनुहोस्