पानी उड्ने उडाइनो झरनामा भीड

गलेश्वर। कोभिड १९ को सङ्ंक्रमणका कारण चिन्तित भएका मानिसहरूका लागि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटमा स्थित पानी उड्ने उडाइनो झरना मन बहलाउने र रमाइलो गर्ने गन्तब्य बनेको छ।

म्याग्दीको सदरमुकाम बेनीबजारको म्याग्दी पुल तरेर पश्चिम हाँडेभीर सुर्केमेला बरञ्जा सडकखण्डतर्फ लाग्दा बगरफाँटमा रमणीय धानका हरिया फाँटहरू कटेपछि उडाइनो झरनामा पुग्न सकिन्छ।

म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र शिरमा झर्ने विभिन्न झरनाहरू हेर्दै करिब दुई किलोमिटरको यात्रा पछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा। करिब दुई सय मिटर उचाईको कोप्रे छहरा र २५० मिटर उचाको उडाइनो झरना मुख्य सडकको सय सय मिटर दक्षिणी भागमा अवस्थित छ।

मुख्य पहाडनै काटिएर अंग्रेजी अक्षर भी आकारमा माथिदेखि तल फैलंदै अर्धसोली आकारमा यस झरना झरिरहेको छ। यहाँ दैनिक ५० देखि दुई सय युवक युवती पुग्छन्। यहाँ दुईवटा झरना रहेका छन्।

एउटा कोप्रे र अर्को उडाइनो झरना। कोरोनाको त्रासबाट आजित युवाहरू आएर रमाइलो गर्दै दिन विताउने गरेका बेनी नगरपालिका ३ का वडासदस्य गेमबहादुर घर्तीमगरले बताए।

बेनी नगरपालिका २ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षण हुन्।

बेनपा ३ भकिम्लीको तोराखेतवाट झर्ने उडाइनो झरना र कोप्रे झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा वग्ने गर्दछन्।

पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गाश्रम जस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ।

झरना सदरमुकाम बेनीबजारदेखि करिव ४५ मिनेटको दुरी र बेनी-बगरफाँट-वरंजा सडकअन्तर्गत बगरफाँट गाउँबाट एकहजार मिटर दक्षिणमा पर्दछ।

म्याग्दीका बुद्धिजीवि एवम् इतिहाँसका अध्येता चन्द्रप्रकाश वानियाँले म्याग्दी नदीको पानी लिफ्ट गरेर भएपनि झरनालाई निरन्तरता दिनुपर्ने बताउँछन्। सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभै पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उनको भनाइ छ।

रमणीय जङ्गलको बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पुशपंक्षीको बासस्थानसमेत छ। प्राकृतिक स्वरुप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाएर यसको विकासमा लाग्न स्थानीयले नगरपालिकासँग माग गरेका छन्।

अन्य दिनभन्दा छुट्टिको दिनमा यहाँघुम्न आउनेको संङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोर किशोरी र युवा समुहले बढी अवलोकन गर्ने गरेका स्थानीयवासीको भनाइ रहेको छ।

यी दुई झरना पर्यटकीय स्थल लव्ली हिल पछिको दोश्रो बढी तस्वीर खिचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवी आचार्यले बताए।

पैदल वा सवारी दुबैको प्रयोग गरी पुग्न सकिने यस छहरालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इट्टा थपिने उनको भनाइ छ।

यहाँ पर्यटकीय पूर्वाधाराको विकास गर्ने हो भने भकिम्ली बेलढुंगा तथा मंगला गाउँपालिकाको झाँक्रीपानी सम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने यहाँ पुग्ने युवाहरूले बताएका छन्।

रासस

प्रतिक्रिया दिनुहोस्