वायुसेवा कम्पनीले सरकारी मान्यताको पीसीआर रिपोर्ट देखाउनुपर्ने
काठमाडाैं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्न तोकेका स्वास्थ्य प्रतिष्ठान र अस्पतालबाट गरिएको परिक्षणलाई मात्रै मान्यता दिने भएको छ।

मन्त्रालयले आज नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गर्दै अन्तर्राष्ट्रिय वायुसेवा संस्थाले आफूखुसी यात्रुलाई एउटै मात्र कोभिड-१९ पीसीआर परीक्षण गर्ने केन्द्र, अस्पताल प्रतिष्ठानबाट गराउने र त्यसलाई मात्र मान्यता दिने गरेको उजुरी मन्त्रालयलाई प्राप्त भएको भन्दै यदि त्यस्तो पाईएमा कानुनी कार्बाही गर्ने चेतावनी दिएको छ।

कुनै पनि वायुसेवा कम्पनीले यस विपरित कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यवहोरा सम्बन्धित सबै वायुसेवाहरुलाई जानकारी गर्न/गराउन मन्त्रालयको निर्णय अनुरुप प्राधिकरणलाई लिखित निर्देशन दिइएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।

वायुसेवा कम्पनीले सरकारले तोकेको कुनैपनि सरकारी स्वास्थ्य प्रतिष्ठान र अस्पताल, निजी स्वास्थ्य प्रतिष्ठान, अस्पताल र स्वास्थ्य संस्थाहरुबाट गरिएको परीक्षणको मान्यता दिने गरी वायुसेवाहरुलाई निर्देशन गर्न प्राधिकरणलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले भदौं १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम पर्यटन मन्त्रालयले नेपाली तथा विदेशी एयरलाइन्सको एक महिनाको उडान तालिका पनि सार्वजनिक गरिसकेको छ।

विदेशबाट दैनिक ५०० यात्रु नबढ्ने गरी यात्रु नेपाल ल्याउन अनुमति दिइएको छ। यसरी आउने यात्रुले पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्नेछ । पीसीआर नगरेकाले उनीहरुकै होटल क्वारेन्टिनमा बस्ने व्यवस्था गरिएको छ।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्