प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत साढे ८२ हजारले पाए रोजगारी

काठमाडौं। गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत साढे साढे ८२ हजारभन्दा बढीले रोजगारी पाएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ को प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री रामेश्वर राय यादवले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७०१ स्थानीय तहमा ८२ हजार ६३८ जनाले रोजगारी प्राप्त गरेको बताए।

‘‘स्थानीय तहमा रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) सञ्चालनमा ल्याई नियमित स्तरोन्नति गरिएको छ,’’ उनले भने, ‘‘७५३ रोजगार सेवा केन्द्रमा तीन लाख ८३ हजार ५९५ जना बेरोजगार व्यक्तिहरू सूचीकृत गरिएको छ।’’

सोही कार्यक्रममार्फत चालु आर्थिक वर्षमा दुई लाख जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य रहेको उनले बताए। सार्वजनिक, निजी क्षेत्र र विशेष कार्यक्रममार्फत चालु आवमा पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध भई सञ्चालन हुने १४ अर्ब रूपैयाँको पाँच वर्षीय युवारूप (युवा रोजगारीका लागि रूपान्तरण पहल) आयोजनाको सम्झौता भई कार्यान्वयनमा गएको पनि उनले जानकारी दिए।

यसैगरी, गत आवमा वैदेशिक रोजगार विभागबाट एक लाख ९० हजार ४५३ जनाले श्रम स्वीकृति लिएको मन्त्री यादवले जानकारी दिए। सोही अवधिमा विभागबाट तीन लाख ६८ हजार ४३३ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

गत असार मसान्तसम्म कतार, युएई, दक्षिण कोरिया, बहराईन, जापान, इजरायल, जोर्डन, मलेसिया र मौरिसस गरी नौ वटा मुलुकसँग श्रम सम्झौता गरिएको मन्त्रालयले जनाएको छ।

सिफारिस

प्रतिक्रिया दिनुहोस्