नेपालमै रासायनिक मल कारखानाको सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन
काठमाडौं। नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यताबारे अध्ययन गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य सुरु गरेको छ।

कृषिमन्त्रालयले यसको सम्भाव्यता अध्ययन गर्न आज कृषि सचिव राजेन्द्रप्रसाद भारीको नेतृत्वमा अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ।

कृषिमन्त्री घनश्याम भुषालको पहलमा रासायनिक मल कारखाना खोल्न सम्भावना भए-नभएको अध्ययन गर्न मन्त्रालयले आन्तरिक कार्यदल गठन गरेको हो।

कार्यदलमा कृषि सचिव भारी, प्रवक्ता, प्रशासन सहसचिव, बजेट कार्यान्वयन शाखा प्रमुख र कृषि सामाग्री अनुगमन शाखाका अधिृकत छन्।

आज गठित टोलीले नयाँ सम्भाव्यता अध्ययन नगर्ने मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए।

“कार्यदलले पहिले भएको अध्ययन प्रतिवेदन हेर्छ र निचोड निकाल्छ। त्यसपछि मन्त्रीज्यूलाई पेस गर्छ,”  उनले भने।

कार्यदलले मन्त्री भुषाललाई प्रतिवेदन पेस गरेपछि मन्त्री भुषालले आगामी कदम चाल्ने बताइएको छ।

नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्भावना भए मन्त्री भुषालले मन्त्रीपरिषद् बैठकमा पेस गर्नेछन्। र, त्यहाँ विस्तृत छलफल हुनेछ।

सम्भावना नदेखिएपनि केही निर्णय वा छलफल हुने प्रवक्ता केसीले देखापढीलाई बताए। यसअघि सरकारले २०७२ सालमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न प्रयास गरेको थियो।

त्यतिबेला लगानी बोर्डले नेपालमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन (आईडेक)लाई दिएको थियो।

आइडेकले २०७४ साल असारमा बुझाएको प्रतिवेदनले घुमाउरो शैलीमा नेपालमा मल कारखाना स्थापना गर्न सम्भव नरहेको र कारखाना खोल्दा लागत पनि महँगो पर्ने निष्कर्ष निकालेको थियो।

तर, भारतीय कम्पनीको चित्त नबुझेपछि सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङको संयोजकत्वमा छुट्टै समिति गठन गरेको थियो।

उक्त समितिलाई आइडेकले दिएको प्रतिवेदन मूल्याङ्कन गरेर नयाँ प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको थियो।

सोहीअनुसार नेपालमा मल कारखाना खोल्न कम्तिमा ७२ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष समितिले निकालेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्