तोकिएको समयमा मल नल्याउने दुई ठेकेदार कम्पनीसँगको सम्झौता रद्द, करिब ८ लाख डलर धरौटी जफत
काठमाडौं। सम्झौताअनुसार समयमै रासायनिक मल नल्याउने दुई वटा ठेकेदार कम्पनीसँगको सम्झौता रद्द भएको छ।

कृषि सामाग्री कम्पनी सम्झौताअनुसार समयमै मल नल्याउने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीसँगको सम्झोता रद्द गरेको हो।

शैलुङ इन्टरप्राइजेज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको घरबेटी समेत रहेका शारदाप्रसाद अधिकारीको कम्पनी हो। यस्तै, होनीको मल्टीपल कम्पनी हुमनाथ कोइरालाको हो।

ठेक्का रद्दसँगै यी दुई वटा कम्पनीले राखेको ७ लाख ८७ हजार ७७७ अमेरिकी डलर धरौटी जफत गरेको छ। यो भनेको झण्डै साढे ९ करोड रुपैयाँ हुन आउँछ।

सामाग्री कम्पनीले शैलुङसँग वैशाख १२ र होनीकोसँग वैशाख २० गतेभित्र नेपालमा मल ल्याउनेगरी सम्झौता गरेको थियो।

तर, त्यसको ४ महिना वित्दा पनि मल नल्याएपछि सम्झौता रद्द गरिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए।

दुवै कम्पनीले मल ल्याउने अन्तिम समय भदौ २० सम्मको थियो। तर, थपिएको समयमा पनि मल ल्याउन नसकेपछि गत शुक्रबार समय थप्न माग गरेका थिए।

दुवै कम्पनीले २५/२५ हजार मेट्रिक टन मल ल्याउने सम्झौता गरेका थिए। मल ल्याउने सम्झौताका क्रममा राखिएको ५ प्रतिशत धरौटी रकम जफत गरिने भएको हो।

आइतबार कृषिमन्त्री घनश्याम भुषालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै दुई कम्पनीसँगको ठेक्का सम्झौता रद्द भएको र धरौटी जफत भएको जानकारी दिए।

साथै, उनले ती दुई कम्पनीलाई कालोसूचीमा राख्ने र क्षतीपूर्ति लिने समेत बताए। र, आवश्यक पर्ने ५० हजार मेट्रिक टन युरिया मल बंगलादेशसँग पैचो लिइने मन्त्रालयले बताएको छ।

त्यसका लागि परराष्ट्रमन्त्रालयले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्