मन्त्री हुँदा वा नहुँदा केही फरक पर्दैन: खतिवडा
काठमाडौं। भर्खरै अर्थमन्त्रीको जिम्मेवारी मुक्त भएका डा. युवराज खतिवडाले आफ्नो साढे दुई वर्षको कार्यकाल सन्तोषजनक रहेको र समग्रमा सरकारको पूर्ण कार्यकाल काम गरेको अनुभूत गरेको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै निवर्तमान अर्थमन्त्री खतिवडाले साढे दुई वर्षको कार्यकालमा पूर्ण कार्यकालमा गर्ने जत्तिकै काम गरेको बताए।

“अहिलेको मन्त्रीपरिषदमा सबैभन्दा बढी खटेर प्रधानमन्त्रीले नै काम गर्नुभएको छ। उहाँको खटाईसँग कसैले सक्दैन। त्यसपछि सबैभन्दा बढी खटेर काम गर्ने दोस्रो व्यक्ति म नै हुँ”, खतिवडाले भने, “यस अवधिमा गरेका काम पूर्ण कार्यकालमा गरेका जत्तिकै छन्।”

आफ्नो कार्यकालमा भएका कामहरूमध्ये केहीको नतिजा देखिन थालेको र कपितय कामको भने केही समयपछि नतिजा आउन थाल्ने उनले बताए।

साढे दुई वर्षको कार्यकालमा आर्थिक वृद्धिको जग बलियो बनाएको, चुनौतिपूर्ण मानिएको वित्तीय संघीयताको कार्यान्वयन गरेको, कर र राजश्व प्रशासनमा सुधार गरेको, बजेट प्रणालीमा सुधार ल्याएको लगायतलाई सफल कामको रूपमा खतिवडाले उल्लेख गरेका छन्।

आफ्नो कार्यकालमा पदको जोखिम लिएरै काम गरेको कारण सुरूको दिनबाट नै आफ्नो आलोचना भएको खतिवडाले बताए।

“मैले जति जोखिम अरूले लिन सक्ने स्थिति नै हुँदैन। किनभने, म व्यवसायीक क्षेत्रबाट आएको, राजनीतिलाई नजिकबाट बुझेको र मन्त्री हुँदा वा नहुँदा केही फरक पर्दैन भनेर आफ्नो पद जोखिममा राखेर हिड्ने मान्छे मध्येमा परे”, खतिवडाले भने, “मन्त्रीहरूले सामान्यतया पद जोखिममा राखेर निर्णय गर्ने स्थिति प्राय: मैले देखेको छैन।”

साढे दुई वर्षको अवधिमा अर्थतन्त्रको आधार बलियो बनेको र अबको वर्षहरूमा क्रमश: प्रतिफल प्राप्त हुँदै जाने उनले बताए।
त्यसबाहेक, अब बन्ने अर्थमन्त्रीलाई स्रोत जुटाउन र परिचालन गर्न कुनै समस्या नहुने गरी आर्थिक स्रोतको सुनिश्चितता भएको डा. खतिवडाले बताए।

निवर्तमान अर्थमन्त्री खतिवडासँग देखापढीले गरेको विस्तृत अन्तरवार्ता २२ भदौमा प्रकाशन हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्