‘कनेक्टीभिटी’मा लगानी भयो, अब ‘कन्टेन्ट’मा लगानी आवश्यक

काठमाडौं। दूरसञ्चार क्षेत्रको विकास र विस्तारमा उल्लेख्य लगानी बढेकाले अब ‘कन्टेन्ट’ सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ का कारण नेपालमा पनि इन्टरनेटको प्रयोग बढ्दै गएको र लकडाउन अगाडिको तुलनामा अहिले डाटा उपभोगको प्रवृत्ति पनि परिवर्तन भएकोले कन्टेन्टमा लगानी बढाउन आवश्यक भएको उनीहरूको भनाइ छ।

‘‘ई–लर्निङदेखि भर्चुअल बैठक, अध्ययन सामग्री, मनोरञ्जनजस्ता नयाँ क्षेत्रको जानकारी लिने माध्यम नै इन्टरनेट भएको छ,’’ नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘‘त्यसैले अब कन्टेन्ट सुधारमा जानु आवश्यक छ।’’

उनले लकडाउनकै समयमा पनि अफवाह फैलाउने खालका कार्य गरेकोले केही अनलाइनलाई प्रेस काउन्सिलको सहकार्यमा बन्द गराएको, साइबर निर्देशिका कार्यान्वयनमा ल्याएको तथा ई–शिक्षा प्याकेजमा प्राधिकरणले काम गरेको बताए। कोभिडका समयमा सेवा प्रदायक कम्पनीहरूको सक्रियताका कारण ग्राहकको गुनासो अपेक्षाकृत रूपमा नआएको उनको अनुभव छ।

ग्रामीण दूरसञ्चार विज्ञ पवन शाक्यले कोभिडका कारण डाटा उपभोग सहरी क्षेत्रमा अत्याधिक बढेको र ग्रामीण क्षेत्रमा कनेक्टिभिटीकै समस्या रहेकोले ‘डिजिटल डिभाइड’को समस्या बढेर जाने आशंका व्यक्त गरे। सहरको तुलनामा गाउँमा केनेक्टिभिटी र कन्टेन्ट दुवैको अवस्था दयनीय भएको उनले बताए।

‘‘सहरमा सेवा छनोटको अवसर छ, कन्टेन्टमा पनि खोज्न र बुझ्न सक्ने जनमानस धेरै छ। अब ग्रामीण क्षेत्रमा केन्द्रित गर्नुपर्ने अवस्था आइसकेको छ,’’ उनले भने। यदि ग्रामीण क्षेत्रको सेवामा ध्यान दिन सकिएन भने भोलिका दिनमा गाउँ र सहरमा हुने डिजिटल डिभाइडले ठूलो समस्या ल्याउनेतर्फ उनले सरोकारवालाको ध्यानाकर्षण गराए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कर्णाली प्रदेश, हिमाल र उच्च पहाडी भेगमा प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरञ्चार कोष परिचालन गरी कनेक्टिभिटी विस्तारमा सहजीकरण गरिनुपर्ने बताए। ‘‘धेरै बस्ती भएको क्षेत्रमा सेवा प्रदायकले आफैं सेवा विस्तार गर्छन्, जहाँ अप्ठ्यारो छ त्यो ठाउँमा सरकारले सहजीकरण गर्नुपर्छ,’’ उनले भने।

उनले ग्रामीण क्षेत्रकै लागि भनेर सबै सेवा प्रदायकबाट आम्दानीको दुई प्रतिशत रकम कोषमा जम्मा गर्ने गरेकोले सो रकम तोकिएको काममै खर्च गर्नुपर्नेमा जोड दिए। हाल यो कोषको रकम सरकारले चालु खातामा जम्मा गरेर राखेको छ। ग्रामीण क्षेत्रमा कोषको रकम उच्चतम प्रयोग गर्न सकियो भने कन्टेन्टमा पनि एक चरण पार गर्न सहज हुने उनको भनाइ छ।

एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले कोभिडपछि ग्राहकहरूमा सेवा लिने प्रवृत्ति परिवर्तन भएको बताए। डाटा सेवा प्रयोग बढेको भन्दै उनले अब एनसेल यसमा लक्षित गरी आफ्ना कार्यक्रमहरू ल्याउने तयारीमा रहेको जानकारी दिए।

पछिल्लो प्रविधि ‘फाइभ जी’मा पनि केही सकारात्मक प्रविधिको विकासलाई नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने खालको संकेत उनले दिए। कोभिडको समयमा सरकारसँग नजिक रहेर काम गरेको उनले बताए।

यता इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले लकडाउन अवधिमा इन्टरनेट व्याण्डविथ खपत ४० प्रतिशतसम्म वृद्धि भएको बताए। यो अवधिमा उपभोक्ताको रूचि र प्रयोग फेरिएको उनी बताउँछन्। पछिल्लो समयमा चर्चित बनेको सामाजिक सञ्जाल टिकटकले सेवा प्रदयाकहरूलाई व्याण्डविथ व्यवस्थापनमा धौ–धौ पारेको भन्दै यसमा केही सोच्न पनि नियामक निकायसमक्ष उनले आग्रह गरे।

प्राधिकरणका निर्देशक रोयले राज्य र उपभोक्तालाई टिकटकले के दियो, यसको प्रयोग गर्दा र नगर्दा वा भनौं नेपालमा प्रवेश गरेर सिधै सेवा दिने सम्बन्धमा अध्ययन गरिरहेको बताउँदै यसबारे छिट्टै केही ठोस निर्णय लिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्