मेगा बैंकको १८ लाख कित्ता सेयर बिक्रीमा, एक सय रूपैयाँमा लिलाम बढाबढ

काठमाडौं। मेगा बैंकले १८ लाख कित्ता सेयर बिक्री गर्न शिलबन्दी बोलपत्र आब्हान गरेको छ। बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३४४ र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३९४ गरी १८ लाख ४० हजार ७३९ कित्ता सेयर बोलपत्रबाट बिक्री गर्न लागेको हो।

मेगा बैंकले न्यूनतम शेयर मूल्य एक सय रूपैयाँ तोकेर लिलामबढाबढमा शेयर बिक्री गर्न लागेको हो। अहिले बैंकको सेयर मूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ।

बैंकले २०७४ साल भदौ २७ गतेदेखि २०७४ साल कात्तिक १४ गतेसम्म संस्थापक तथा साधारण सेयरधनीहरुका लागि हकप्रद सेयर निष्काशन गरेको थियो। त्यसमध्ये बिक्री नभएर बाँकी रहेको १८ लाख ४० हजार ७ सय ३८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो।

मेगा बैंकको शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुले असोज ११ देखि १८ गतेभित्र आफूले खरिद गर्न चाहेको प्रतिकित्ता सेयर र दररेट खुलाई गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ।

न्यूनतम १०० रुपैया र त्यस भन्दा बढी कतिमा सेयर खरीद गर्न चाहेको हो स्पष्ट खुलाई बोलकबोल आवेदन दिनुपर्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। न्यूनतम एक सय कित्ता र अधिकतम एक लाख कित्ता शेयरसम्मको लागि आवेदन गर्न पाउने बताइएको छ।

शेयर खरिद गर्न चाहने लगानीकर्ताले काठमाडौं उपत्यका भित्र मेगा बैंकको कमलादीस्थित मुख्य कार्यालय, नयाँ बानेश्वर, ठमेल, न्यूरोड (पिपलबोट), ज्ञानेश्वर, चाबहिल, बौद्ध, कलंकी, गोंगबु, महाराजगञ्ज, मैतीदेवी, जावलाखेल, पुरानो ठिमी र सूर्यविनायक शाखाबाट सर्वसाधारणहरुले सेयर खरिदका लागि आवेदन दिन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ।

यसैगरी, काठमाडौं उपत्यकाबाहिर धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, तुल्सीपुर, भैरहवा, बुटवल, अर्घाखाँची, तम्घास, तानसेन, नारायणगढ, पोखराको सभागृहचोक र चिप्लेढुंगा, हेटौंडा, वीरगञ्ज, सिन्धुली, जनकपुर, धरान, विराटनगर र विर्तामोड शाखाबाट सेयर खरिदका लागि आवेदन दिने व्यवस्था मिलाइएको मेगा बैंकले बताएको छ।

अनलाइनबाट शेयर आवेदन गर्न इच्छुक आवेदनकर्ताहरुले मेगा बैंक वा मेगा क्यापिटल मार्केटस लिमिटेडबाट छाप प्रमाणित गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको बताइएको छ।

कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक तोकेको छ।

प्रतिक्रिया दिनुहोस्