बैंकमा प्रशस्त तरलता हुँदा पनि निक्षेपको ब्याजदर बढाउन किन हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौं। कोभिड-१९ महामारीको दुस्प्रभावका कारण अर्थतन्त्रको सबै क्षेत्र शिथिल हुँदा लगानी बढ्न सकेको छैन्। बैंकबाट कर्जाको माग नहुँदा बैंकहरूसँग लगानी योग्य पुँजी प्रशस्त छ।

बैंकसँग प्रशस्त पैसा हुँदा निक्षेपकर्ताहरूबाट बैंकले अत्यन्तै कम ब्याजदरमा निक्षेप स्वीकार गर्ने गर्दथे। तर, अहिले बैंकहरूले निक्षेपको ब्याजदर ९ प्रतिशतसम्म पुर्‍याएर आक्रामश प्रचार–प्रसार गरिरहेका छन्।

बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता हुँदा पनि निक्षेपमा दिइने ब्याजको दर बैंकहरूले बढाउन थाल्नुका पछाडि मुख्य गरी दुई कारण रहेको बैंकरहरू बताउँछन्।

पहिलो कारण, बैंकको कल डिपोजिट राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउनुपर्ने कारणले पनि बैंकहरुले निक्षेपमा उच्च ब्याजदर अफर गरिरहेका छन्। पछिल्लो पटक नबिल बैंकले मुद्दती निक्षेपमा नौ प्रतिशत ब्याजदर सहितको स्किम सार्वजनिक गरेको छ।

नबिलसँगै अरू बैंकहरुले पनि निक्षेपको पोर्टफोलियो व्यवस्थापन गर्न निक्षेपमा उच्च दरको ब्याजदरको स्मिक सार्वजनिक गर्ने तयारीमा छन्।

राष्ट्र बैंकको निर्देशन अनुसार गत असार मसान्तभित्र नै कल डिपोजिट अनुपात अधिकत १० प्रतिशतको सीमाभित्र ल्याइसक्नुपर्ने थियो। तर, कतिपय बैंकहरूले राष्ट्र बैंकको नीति अनुसार, निक्षेपको पोर्टफोलियो व्यवस्थापन गर्न सकेका छैनन्।

कोरोना महामारीको अवस्था भएको कारण पनि राष्ट्र बैंकले उक्त नीतिमा कडाई नगरेको कारण बैंकहरूले छुट पाइरहेका छन्। अवस्था सामान्य हुनासाथ कल डिपोजिट अनुपात १० प्रतिशतमा ल्याउनुपर्ने भएकाले केही बैंकहरूले भने अहिल्यैबाट तयारी थालेका छन्।

“राष्ट्र बैंकको नीति अनुसार ढिलो चाँडो कल डिपोजिट अनुपात व्यवस्थापन गर्नै पर्छ। त्यसका लागी केही बैंकलाई निक्षेप संकलन बढाउनुपर्ने बाध्यता छ। त्यसो हुँदा निक्षेपमा दिइने व्याजदर बढाउन बैंकहरू बाध्य हुन्छन्”, एक बैंकले भने, “करीब आधा दर्जन बैंकले निक्षेपको ब्याजदर बढाएपछि अरू बैंकलाई पनि ब्याजदर बढाउने दबाब हुन्छ।”

बैंकले निक्षेपको ब्याजदर बढाएपछि कर्जाको ब्याज पनि बढ्छ। कर्जाको ब्याजबाट कमाएर नै निक्षेपकर्तालाई दिनुपर्ने भएकाले बैंकले ऋणको ब्याजदर पनि केही बढाउँछन्।

कल डिपोजिटको हिस्सा बढी भएको बैंकहरू नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ, माछापुच्छ्रे, प्राइम कमर्सियल, सेञ्चुरी लगायतका बैंकहरू छन्। नबिल बैंकले मुद्धती निक्षेपको ब्याजदर बढाएपछि अरू बैंकले पनि निक्षेप पाउन ब्याजदर बढाउनुपर्ने बाध्यता छ।

अर्कोतर्फ, राष्ट्र बैंकले गत साता निर्देशन जारी गरेर एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यसो हुँदा बैंकले मनोमानीरूपमा ब्याजदर बढाउँछन पाउँदैनन भने बैंकको आम्दानीमा पनि त्यसले असर गर्छ।

त्यसो हुँदा आधारदर बढाएर केही बढी ब्याजदरमा कर्जा लगानी गर्नका लागि पनि बैंकहरूले निक्षेपमा ब्याजदर बढाउने रणनीति लिएको एक बैंकरले बताए।

अहिले लगानी गरेको कर्जाको ब्याजदर वर्षौसम्म एउटै हुने भएकाले बैंकले सुरूमै बढी ब्याजदरमा कर्जा लगानी गर्ने नीति अख्तियार गर्न खोजेका छन्। कतिपय बैंकले पनि ‘इन्ट्रेष्ट स्प्रेड’ मिलाउनको लागि पनि निक्षेपको ब्याजदर बढाइरहेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए। राष्ट्र बैंकको निर्देशन अनुसार इन्ट्रेष्ट स्प्रेड ४.४ मा कायम राख्नुपर्छ।

बैंकहरूले निक्षेपको ब्याजदर बढाएको भए पनि संस्थागत निक्षेपमा भन्दा व्यक्तिगत निक्षेपमा बढी ध्यान दिएका छन्। व्यक्तिगत निक्षेप लिदा अहिले उच्च ब्याजदर प्रस्ताव गरेको भए पनि केही समयपछि बैंकले व्यक्तिसँग बार्गेनिङ गरेर ब्याजदर परिवर्तन गराउन सक्छन् तर, संस्थागत निक्षेप लिदा त्यस्तो सम्भावना असाध्यै कम हुन्छ।

प्रतिक्रिया दिनुहोस्