नेपाली कामदारको पीसीआर परीक्षण गरेर तातोपानी नाका खोल्ने चीनको संकेत

काठमाडौं। कामदारमा कोरोना देखिएपछि २० दिनदेखि बन्द भएको रसुवागढी नाका खुले लगत्तै चीनले तातोपानी नाका खोल्ने संकेत दिएको छ।

चीनले नेपाली कामदारको पीसीआर परिक्षण गर्ने बताएसँगै असार २५ गतेदेखि बन्द भएको नाका सञ्चालनमा ल्याउने संकेत दिएको हो।

असार २५ गते सिन्धुपाल्चोकको जम्बु बजारमा पहिरो गएपछि नाका पूर्णरुपमा बन्द छ। चीनले सीमा नाकासम्म गएर सामान ल्याउने २९ जना नेपाली कर्मचारीको पीसीआर परीक्षण गर्ने जानकारी दिएको छ।

“चीनले नेपाली कामदार र ट्रक ड्राइभरको पीसीआर परीक्षण गर्ने जानकारी दिएको छ,” भन्सार प्रमुख लालबहादुर खत्रीले भने, “आज गर्ने तयारी गरिएको भए पनि पानी परेकोले रोकियो।”

उनका अनुसार आज रोकिएको कामदारको पीसीआर परिक्षण भोलि गर्ने तयारी चिनियाँ पक्षको छ। तर, पीसीआर परीक्षणमा कामदारलाई कोभिड–१९ देखिएमा थप केही साता नखुल्ने बताइएको छ।

यसअघि, चीनमा कोरोना देखिएपछि माघ १३ देखि बन्द भएको नाका खोल्नुअघि पनि चीनले नेपाली कामदारको पीसीआर परीक्षण गरेको थियो।

माघ १३ गतेदेखि बन्द भएको नाका त्यसको साढे दुई महिनापछि चैत २६ गते खुलेको थियो। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले तातोपानी नाका खोल्न चीन सकरात्मक रहेको बताए।

उनले भने, “राजदुत र वाणिज्य दुतले गरेको वार्तापछि चीनले अबको केही सातादेखि तातोपानी नाका पनि सञ्चालनमा ल्याउने बताएको छ।”

तातोपानी नाका हुँदै सामान आयात गर्ने व्यापारीहरुले भन्सारलाई बताएअनुसार २०० हाराहारीमा ट्रक चीनमा रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्