निरन्तर सुधारिँदै वैदेशिक व्यापार घाटा

काठमाडौं। गत आर्थिक वर्ष २०७६/७७ देखि सुध्रिन थालेको वैदेशिक व्यापार घाटामा निरन्तर सुधार आउन लागेको छ। नेपालबाट निकासी हुने वस्तुको परिमाण बढेर विदेशबाट आयात हुने वस्तुको परिमाण घट्दा व्यापार घाटामा सुधार आउन थालेको हो।

गत वर्ष नेपालले वैदेशिक व्यापार घाटामा १६.८३ प्रतिशतले सुधार आएको थियो। वर्षभरी हुने आयात १५ प्रतिशतले खुम्चिँदा गत वर्षको व्यापार घाटा खुम्चिएको भन्सार विभागले जानकारी दिएको छ।

यस्तै, चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा पनि व्यापार घाटामा २४.९३ प्रतिशतको सुधार आएको छ। यसअवधिमा २२.०७ प्रतिशतले आयात घटेर १०.४९ प्रतिशतले निर्यात बढ्दा वैदेशिक व्यापार घाटामा उक्त सुधार आएको हो।

गत वर्षको साउन र भदौ महिनामा नेपालले २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँको आयात गरेको थियो। तर, यो वर्षको सोही अवधिमा जम्मा १ खर्ब ७८ अर्ब रूपैयाँको आयात गरेको छ।

यो भनेको गत वर्षको सोही अवधिको तुलनामा ५१ अर्बभन्दा बढीले आयात घट्नु हो। यस्तै, गत वर्षको भदौ महिनासम्मा नेपालले २० अर्ब ४४ करोड रूपैयाँको निर्यात गरेको छ।

अघिल्लो वर्षको यही अवधिमा जम्मा १८ अर्ब ५० करोड रुपैयाँको निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ। गत वर्षको सोही अवधिको तुलनामा यो वर्षको भदौ महिनासम्म भएको निर्यातमा आएको वृद्धि १ अर्ब ९४ करोडको हो।

प्रतिक्रिया दिनुहोस्