रेडक्रसले जारी गर्यो श्वेतपत्र: विभिन्न कोषमा १ अर्ब ३६ करोड २९ लाख रकम, केन्द्रीय रक्त सञ्चार सेवामा ७ करोड घाटा

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले आज श्वेतपत्र जारी गर्दै पछिल्लो पाँच वर्षमा संस्थालाई ७ करोड ५५ लाख १२ हजार ९२४ रुपैयाँ ८० पैसा नोक्सान भएको जनाएको छ।

श्वेतपत्रमा नेपाल रेडक्रस सोसाइटीले केन्द्रीय रक्त सञ्चार सेवाको आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्ममा कूल आम्दानी २८ कारोड ३४ लाख १२ हजार ९५३ रुपैयाँ देखाइएको छ।

सोही अवधिमा खर्च ३५ करोड ८९ लाख २५ हजार ८७८ रुपैयाँ २६ पैसा भएको श्वेतपत्रमा उल्लेख छ ।

गत आर्थिक बर्षमा जनकपुर आँखा अस्पतालको आय ६ करोड ८८ लाख रुपैयाँ र खर्च ७ करोड एक लाख भई १३ लाख घाटा भएको श्वेतपत्रमा जनाइएको छ। सुर्खेत आँखा अस्पतालको आय ४ करोड ४४ लाख रुपैयाँ र खर्च ४ करोड ९२ लाख देखाइएको छ।

“संस्थाको साधारणतर्फको आय–व्यय विवरणअनुसार गत आ.ब.मा २२ करोड ८३ लाख रूपैँया आम्दानी भई २६ करोड ७३ लाख खर्च भएको छ। जसअनुसार आ.व. २०७६/०७७ मा संस्था तीन करोड ९० लाख रूपैँया घाटामा गएको देखिन्छ,” श्वेतपत्रमा लेखिएको छ।

संस्थाका कोषहरूमध्ये पूँजी कोषमा १७ करोड ५८ लाख, अक्षय कोषहरूमा चार करोड ६२ लाख, सञ्चालन प्रकृतिका कोषहरूमा ५५ करोड ६० लाख, सामग्री (राहत तथा अन्य) सञ्चित कोषमा २३ करोड ६९ लाख, प्राथमिक उपचार कोषमा एक करोड ४४ लाख, उपदान कोषमा १८ करोड ९१ लाख र आय–व्यय सञ्चित कोषमा १४ करोड ४५ लाख रहेको छ।

संस्थामा दुई लाख २४ हजार बैधानिक वयस्क सदस्यहरू र आठ लाख ५२ हजार जुनियर तथा युवा सदस्यहरू विभिन्न शैक्षिक संस्थाहरू र समुदायमा आधारित रहेको जनाइएको छ।

हाल रेडक्रसका १ हजार ५३७ उपशाखा, ७७ जिल्ला शाखा, सात वटा प्रदेश समिति र एक केन्द्रीय समिति रहेका छन्। यस अलावा ४ हजार ५०३ जुनियर सर्कल, समुदायस्तरमा १९३ र उच्च शिक्षालयहरूमा १ हजार ५५९ युवा सर्कल गरी आठ हजारभन्दा बढी नेपाल रेडक्रसका निकायहरू क्रियाशील रहेका छन्।

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यसमितिको तर्फबाट अध्यक्ष डा. नेत्र तिम्सिनाले श्वेतपत्र सार्वजनिक गरेका थिए।

श्वेतपत्र सार्वजनिक कार्यक्रममा बोल्दै तिम्सिनाले रेडक्रसको दर्ता नवीकरण हुन नसकी संस्थाको बैधानिकता माथि प्रश्न उठेकोले संस्था नवीकरणलाई पहिलो प्राथमिकतामा राखिएको बताए।

“निर्वाचन गराउन पनि कर चुक्ता, समाज कल्याण परिषद्मा कार्यक्रम स्वीकृति, अनुमोदन तथा अनुगमनजस्ता कानुनी, वैधानिक विषयहरू टुंग्याउनु पर्ने छ,” तिम्सिनाले भने।

रेडक्रस सञ्चालनको लागि स्पष्ट कानुनी आधार खडा गर्नु संस्थाको उदेश्य भएपनि तत्कालको लागि संस्था दर्ता ऐनको मर्म वमोजिम नै रेडक्रसलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले बताए।

श्वेतपत्रमा उल्लेख भएवमोजिम तदर्थ समितिलाई दिइएको जिम्मेवारीमा कार्यसमिति प्रतिवद्ध रहेको र संस्थाको निर्वाचन कोभिडलगायतका विकसित परिस्थितिमा आधारित हुने उनले जनाए।

श्वेतपत्र मार्फत तदर्थ समितिले नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय, समाज कल्याण परिषद, सञ्चार जगत र दातृ निकायहरुलगायत अन्य निकायसँगको सम्बन्धलाई थप सुधार बनाइने लगायतका २२ बुँदे प्रतिबद्धता जाहेर गरेको छ।

जारी नौ पृष्ठको श्वतेपत्रमा संस्थाको वर्तमान समस्याहरु, सुधारका लागि प्रतिवद्धताहरु र संस्थाको विद्यमान अवस्थाको बारेमा उल्लेख गरिएको छ।

रेडक्रसको वर्तमान सांगठनिक, प्रशासनिक तथा आर्थिक अवस्था र अन्य स्रोत साधनको प्रयोग, भवन, जग्गा, गोदामघरहरू र संस्थागत चालु गतिविधिहरूको हालको अवस्थालाई पनि श्वेतपत्रमा चित्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्