आज पनि घट्यो नेप्से, लगानीकर्ता झुम्मिदा जलविद्युत कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं। शेयर बजारको कारोबारमा आज नेप्से ४.७२ अंकले घटेको छ। नेप्से घटे पनि आजको कारोबारमा जलविद्युत कम्पनीको शेयरमा भने लगानीकर्ता झुम्मिए थिए।

जसका कारण अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य भने बढेको छ। लामो समयदेखि अंकित मूल्यभन्दा तल झरेका जलविद्युत कम्पनीको शेयरको मूल्य बढ्न थालेपछि विस्तारै अंकित मूल्यभन्दा माथि पुग्न थालेको छ।

आज शेयर बजारमा कारोबार एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ पुगेको छ। हिजो एक अर्ब ६९ करोडको शेयर कारोबार भएकोमा आज कारोबार रकम १३ करोड रुपैयाँले बढेको हो।

आज कुल १९२ कम्पनी ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरीद बिक्री भएको छ। कारोबारमा आएका तीन उपसमूहका सूचक सकारात्मक बनेको बजारमा ९ वटा उपसमूहको सूचक ऋणात्मक बन्न पुगेको छ।

आज कारोबार सुरू भएदेखि नै घटेको नेप्से अन्त्यसम्मै घट्ने क्रम जारी रह्यो। आज १५६४.७८ विन्दुबाट सुरु भएको सूचक शुरुको ४५ मिनेटमा १५५२.८५ विन्दुसम्म ओर्लिएको थियो। त्यसपछि, १५५५ अंकको वरिपरि रहेर अन्त्यमा १५५३.६२ विन्दुमा झरेर बजार बन्द भयो।

आजको शेयर बजारमा अरुण काबेलीको सेयरमा सर्वाधिक रकमको कारोबार भएको छ। अरुण काबेलीको करीब १७ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्