सामान किन्दा ठगिएको महसुस गर्नुभयो ? ११३७ मा फोन गर्नुहोस्

काठमाडौं। नेपालीहरूकाे महान चाड दसैँ, तिहार र छठ नजिकिएकाे छ।

सबैजसो मानिस लत्ताकपडा, भाँडाकुँडा, सजावटका वस्तु, खाद्यान्न, मरमसला लगायतका सामग्री किन्ने चटारोमा देखिन्छन्।

तर, किनमेलमा निस्किने सबैजसो उपभोक्ताले हरेक जसो समय आफू ठगिएको महसुस गर्ने गर्छन्।

के तपाईं पनि किनमेलका क्रममा व्यापारीबाट आफू ठगिएको महसुस गर्नुभएकाे छ ?

यदि ठगिएकाे अनुभूति भएमा तत्काल ११३७ मा फोन गर्नुहोस्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताहरूको गुनासो सुन्न सञ्चालनमा ल्याएको नम्बर हो, ११३७।

यो नम्बरमा फोन गरेर ठग्ने व्यापारीबारे उजुरी दिँदा उपभोक्ताको पैसासमेत काटिँदैन।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्ताले दिएको उजुरीका आधारमा ठगी गर्ने व्यापारीलाई कारबाही गर्ने बताए।

उनले भने, “बजारमा जस्तोसुकै सामान किन्दा ठगिएको महसुस गरेमा विभागले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेर उजुरी गर्नुपर्छ।”

उनका अनुसार व्यापारीले म्याद गुज्रिएको सामान बेचे, अखाद्य वस्तु बिक्री गरे, बढी मूल्य लिए, सामान लुकाएको पाए उपभोक्ताले नै उजुरी गर्नुपर्छ।

उपभोक्ताको उजुरीपछि विभागले उक्त उजुरीका आधारमा ठगी गर्ने पसलमा छापा मार्ने र कानुनअनुसार कारबाही गर्ने सुवेदीको भनाइ छ।

त्यसैगरी असामाजिक कार्य गर्ने व्यापारीलाई कारबाही गरेर कानुनी राज्यको उदाहरण दिन तयार रहेको विभागको भनाइ छ।

आफू ठगिएको जानकारी पाएर पनि उजुरी नगरेमा वर्षभर ठगिन पर्ने भएकाले तत्काल उजुरी गर्न विभागले अनुराेध गरेकाे छ।

यसअघि निस्क्रिय रहेको उक्त हटलाइन नम्बर विभागले लकडाउनको समयमा सक्रिय पारेको थियो।

लकडाउनमा, खाद्यान्न अभाव भएमा, ग्यास नपाएमा वा ठगीमा परेमा उक्त नम्बरमा फोन गरेर गुनासो र अर्डर गर्न सकिने व्यवस्था गरिएको थियो।

चाडपर्व लक्षित अनुगमनमा तीव्रता

विभागले दसैँ, तिहार र छठ पर्वमा किनमेल गर्ने उपभोक्ता नठगिउन् भनेर चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ।

विभागका महानिर्देशक सुवेदीले विभागले चारवटा टोली बनाएर बजारमा अनुगमनलाई तीव्रता दिएको जानकारी दिए।

“४/४ जनाको ४ समूह बनाएर पर्वलक्षित अनुगमनलाई तीव्रता दिइएको छ”, उनले भने “योसँगै प्रहरी प्रशासनसँगको सहकार्यमा चल्ने अनुगमनको नियमित कार्य पनि चलिरहेको छ।”

उनका अनुसार उक्त ४ टोलीमा २० जनासम्मको सदस्य रहन्छन्।

प्रतिक्रिया दिनुहोस्