वरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल भन्छन्- स्टेकहोल्डरले मात्र महासंघको सफल नेतृत्व गर्न सक्छ

काठमाडौं। वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले महासंघको छवि सुधार्न वास्तविक उद्योगी, व्यवसायी तथा स्टेकहोल्डर नै नेतृत्वमा आउनुपर्ने बताएका छन्।

यस अघि महासंघको उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका ढकालले देशभरिका उद्योगी व्यवसायीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा तथा निर्वाचनमा यही मंसिर ११, १२ र १३ गते हुँदै छ। जिल्ला नगरबाट निर्वाचनका लागि काठमाडौं आइपुगेका व्यवसायीहरुसँगको भेटघाटका क्रममा ढकालले महासंघलाई सबै उद्योगी, व्यवसायीमात्रै नभएर पेशागत लगानीकर्ताहरूको साझा संस्था बनाउन महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिनुपर्ने बताए।

नयाँ नेतृत्वले जिल्ला नगरका समस्याका साथै निजी क्षेत्रका समस्या नजिकबाट बुझोस् र समस्याको सम्बोधन गर्नसक्ने होस् भन्ने आम मतदाताको अपेक्षा रहेकोमा आफू र आफ्नो टिम त्यसप्रति पूर्ण प्रतिबद्ध रहेको ढकालको भनाइ थियो।

जिल्ला–नगर उद्योग वाणिज्य संघ, एसोसिएट, वस्तुगत, द्विराष्ट्रिय संघका मतदाताहरूको माग नै वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल भएकाले आफ्नो जित सुनिश्चित भएको उनले बताए।

उनले आफू सबै उद्योगी व्यवसायीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

आफ्नो प्यानलका दुई उमेद्वारहरु चुनाव अघि नै निर्विरोध निर्वाचित भइसकेको जानकारी दिदै ढकालले यसबाट प्रारम्भिक अनुमान सहजै लगाउन सकिने उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्