निर्माण सामग्रीमा १५ देखि १०० प्रतिशतसम्म मूल्यवृद्धि, महासंघले भन्यो- कालोबजारी तत्काल रोक

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा एकतर्फी रुपमा ‘कार्टेलिङ’ गरी अत्याधिक रुपले मूल्य वृद्धि गरिएको प्रति आपत्ति जनाएको छ।

कोभिड–१९ को महामारीबीच निर्माण कार्य सुरु हुने समयको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा एकतर्फी रुपमा अत्याधिक रुपले मूल्य वृद्धि गरिएकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत महासंघले जनाएको छ।

फलामजन्य निर्माण सामग्रीहरु (विभिन्न आकारका डण्डी, पाता, पत्ति, जीआई तार, ग्याविन तार_ उत्पादक कम्पनीहरुल र नदीजन्य निर्माण सामग्री (ढुङ्गा, बालुवा गिट्टी)मा विभिन्न व्यवसायीहरुले अत्याधिक मूल्य वृद्धि गरेको महासंघले जनाएको छ।

“फलामजन्य निर्माण सामग्री उत्पादक कम्पनीहरुले अन्तर्राष्ट्रिय मुद्रा डलरको दर र फलाम ब्लेडको मुल्य थोरै मात्रामा बढेको अवस्थामा पनि अनुपात भन्दा अत्याधिक रुपले मूल्य वृद्धि गरी मिलोमतो गरेको देखिएको छ,” महासंघका महासचिव रोशन दाहालद्धारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

अहिलेको मुल्य वृद्धि कुनै पनि दृष्टिकोणबाट व्यवहारिक तथा वैज्ञानिक नदेखिएको महासंघले जनाएको छ। त्यसैगरी देशको कुनै पनि स्थानबाट नदीजन्य सामग्रीको उत्खनन र बिक्री वितरण गर्न नपाइने गृह मन्त्रालयको हालैको निर्णयप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ।

गृहको निर्णय बमोजिम निर्माणाधिन परियोजनाहरुमा ढुंगा, गिट्टी, बालुवाको चरम अभाव भई परियोजना नै ठप्प हुन सक्ने अवस्था देखिएको प्रति महासंघले सरोकारवाल सबै निकायको ध्यानाकर्षण गरेको छ।

नेपाल सरकारको यस निर्णयबाट क्रसरहरु बन्द हुन गएको र यसबाट अभाव र्सिजना हुन गई खानीजन्य निर्माण सामग्रीहरुमा सिमित व्यवसायीहरुको मिलोमतोमा अत्याधिक मूल्य वृद्धि गराई कालोबजारी गरेको आरोप महासंघले लगाएको छ।

केही महिना अगाडिको मुल्य र हालको मुल्यमा डण्डी प्रति केजीमा १५ देखि २० रुपैयाँसम्म मुल्य वृद्धि भएको महासंघले जनाएको छ। ढुङ्गा, गिट्टी, बालुवाको स्रोतदरको मूल्यमा दोब्बर मुल्य वृद्धि भएको महासंघले बताएको छ।

महासंघका अनुसार कोभिड-१९ का कारण सिर्जित चौतर्फी समस्याले काम गर्न समस्या भइरहेको समयमा मुल्य वृद्धि गरी कालोबजारी हुँदा विशेषगरी साना निर्माण व्यवसायीहरु बढी समस्यामा परेको महासंघले जनाएको छ।

विषम परिस्थितिकाबीच निर्माण कार्य गर्ने सिजनको मौका छोपी निर्माण कार्यको लागत बढाउने र बढेको कालोबजारीलाई तत्काल रोक्न महासंघले आग्रह गरेको छ। नेपाल सरकारबाट प्रभावकारी रुपले अनुगमन गरी मूल्य वृद्बि नियन्त्रणका लागि ठोस तथा सार्थक पहल गरिदिन सरोकारवला सबै निकाय समक्ष महासंघले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्