सरकारले बोलाएको वार्तामा गएनन् किसान, भन्छन्- उधारो सम्झौता गर्ने पक्षमा छैनौं

काठमाडौं। माइतीघरमा आन्दोलनरत उखु किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको छलफलको निम्तो अस्वीकार गरेका छन्।

मन्त्रालयले छलफलका लागि बोलाए पनि आफूहरु नगएको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम यादवले देखापढीलाई जानकारी गराए।

“अघिल्लो वर्ष पनि हामीले मन्त्रालयसँग छलफल गरेका हौं। सम्झौता पनि गरियो। तर, अहिलेसम्म कार्यान्वयन भएको छैन,” उनले भने, “गत वर्ष गरेको ५ बुदे सम्झौता कार्यान्वयन गरे पुग्छ। हामीसँग थप छलफल र वार्ता गरिराख्नु पर्दैन।”

गत वर्ष सरकारबाटै धोका पाएका कारण यसपटक छलफलका लागि मन्त्रालयले गरेको निम्तो अस्वीकार गरेको उनको भनाई छ। किसानहरुले सिंहदरबार गएर उधारो सहमती/सम्झौता नगर्ने सन्देश मन्त्रीलाई पठाएको उनले जानकारी दिए।

यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आन्दोलनरत उखु किसानसँग आज छलफल गर्ने बताएका थिए।

उद्योग मन्त्रालयको परिसरमा आज मन्त्री लेखराज भट्टले किसानसँग भेटेर छलफल गर्ने उनले बताएका थिए। तर, मन्त्रालयको निम्तो किसानहरुले अस्वीकार गरेपछि आज हुने भनिएको छलफल रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्