मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा थन्कियाे ९१ लाखको गहुँको बीउ

हेटाैंडा। कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौंडामा ९१ लाख रूपैयाँ बराबरको गहुँ बीउ बिक्री नभई थन्किएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ मा एक हजार ४०८ मेट्रिकटन बिक्री गरिएको भए पनि हाल करिब १४० मेट्रिकटन गहुँको बीउ बिक्री नभई गोदाममा थन्किएको छ।

पछिल्लोपटक अन्य बीउ बिजन उत्पादक कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा कार्यालयमा हाल १४० मेट्रिकटन गहुँको बीउ बिक्री नभएर थन्किएको कार्यालयका सूचना अधिकारी गणेश जोशीले जानकारी दिए।

सो बिक्री नभएको गहुँको बीउको अनुमानित मूल्य करिब ९१ लाख रूपैयाँ रहेको छ।

कार्यालयले गहुँको बीउ प्रतिकेजी ६५ रूपैयाँमा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्ताहरुलाई बिक्री वितरण गर्दै आएको थियो।

पछिल्लोपटक निजी बीउ बिक्री उत्पादक कम्पनीले प्रतिकेजी ५५ रूपैयाँसम्म पनि बिक्री गरेपछि कृषि सामग्री कम्पनीमा मौज्दात गहुँका बीउ बिक्री नभएको कार्यालयको जिकिर छ।

बिक्री नभई राखिएको गहुँको बीउ समयमै बिक्री गर्न लिमिटेडको सञ्चालक समितिको बैठकबाट मात्रै रकम घटाउन सकिने अन्यथा कार्यालयले कम मूल्यमा गहुँको बीउ बिक्री गर्न पाइने छैन।

अब सो गहुँको बीउ बिक्री नभएपछि लिलाम गरिने वा सुरक्षित गरी प्रशोधनपश्चात् अर्को बर्ष बिक्री गरिने कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिए।

कार्यालयको कार्य क्षेत्रअन्तर्गत चालु आवमा बागमती प्रदेशको मकवानपुर, चितवन र काठमाडौं तथा प्रदेश २ को बारा, पर्सा र रौतहटसहित अन्य जिल्लामा सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा गहुँको बीउ उपलब्ध गराउँदै आएको थियो।

किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ। रासस

प्रतिक्रिया दिनुहोस्