मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित, घिउ तेल १३ प्रतिशतले महँगियो

काठमाडौं। चालु आर्थिक वर्षको पाँच महिनामा मुलुकको मूल्यवृद्धि २.९३ प्रतिशतमा सीमित भएको छ।

नेपाल राष्ट्र बैंकले गएको मङ्सिर महिनासम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

यो तथ्याङ्कले गत वर्षको तुलनामा यो वर्ष मूल्यवृद्धि पूर्ण नियन्त्रणमा रहेको देखाउँछ। गत वर्षको सोही अवधिमाभन्दा यो वर्ष मूल्यवृद्धि (मुद्रास्फीति) ३.६२ विन्दुले घटेको देखिन्छ। गत आव (२०७६÷७७) को मङ्सिर महिनासम्म यस्तो मूल्यवृद्धि ६.५५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.२३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि १.१६ प्रतिशत रहेको छ।

२०७६ मंसिरकोे तुलनामा २०७७ मंसिरमा फलफूल, घिउ तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १४.७५ प्रतिशत, १३.०१ प्रतिशत, ११.४४ प्रतिशत र १०.७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा क्षेत्रगत आधारमा हिमाली भेगमा सबैभन्दा धेरै ४.२२ प्रतिशतले मूल्यवृद्धि भएको पाइएको छ। त्यसैगरी पहाडमा ३.९५ प्रतिशत, काठमाडौं उपत्यकामा ३.७१ प्रतिशत र तराईमा २.३५ प्रतिशतले मूल्यवृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ।

गत वर्षको मङ्सिरमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशतले मूल्यवृद्धि भएको थियो।

प्रतिक्रिया दिनुहोस्