नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी

काठमाडौं। नेपाल–भारत पेट्रोलियम पदार्थको पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी गरेको खुलेको छ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले उल्लेख गरेअनुसार अण्डरग्राउण्ड पाइपलाइन प्वाल पारेर हजारौं लिटर डिजेल चोरी हुने गरेको हो।

भारतको पटनादेखि नेपालको बारा जिल्लाको अमलेखगञ्जसम्म आउने पाइपलाइनलाई बीचमै प्वाल पारेर डिजेल झिक्ने गरिएको टाइम्सले उल्लेख गरेको छ।

विहारको डुमरा गाउँमा अण्डरग्राउण्ड पाइपलाई प्वाल पारेर तेल चोरी गरेको पाइएको हो। विहारमा यसरी तेल चोरी गरिएको पहिलो घटना भएको बताइएको छ।

भारततर्फ भएको चोरीले भारतीय आयल कर्पोरेसनलाई करोडौं रुपैयाँ घाटा लागेको आशंका गरिएको छ।

पाइपलाइनभन्दा माथि रहेको खेतमा तेल बग्न थालेपछि पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले देखेर आइओसीलाई जानकारी दिएका थिए।

उक्त सूचना आएपछि आइओसीका अधिकारीले अनुसन्धान गर्दा पाइपलाइन नै प्वाल पारेर चोरी गरेको घटना बाहिर आएको हो।

चोर्नका लागि उनीहरुले पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर त्यसमा अर्को पाइप जोडेका थिए। त्यही प्वालबाट उनीहरुले दैनिक हजारौं लिटर डिजेल झिक्ने गरेको पाइएको हो।

तेल चोर्नका लागि जोडिएको पाइपलाई पनि जमिन भित्र गाडेर राखिएको थियो। यद्यपी, पाइपलाइन प्वाल पारेर गरिएको चोरीको क्षती नेपाल आयल निगमलाई नहुने निगमले बताएको छ।

प्रतिक्रिया दिनुहोस्