नेपाललाई ८ महिनामा ८ खर्ब ६३ अर्ब व्यापार घाटा
९ खर्ब ४३ अर्बको आयात, ८० अर्बको निर्यात

काठमाडौं। चालू आर्थिक वर्षको सात महिनासम्म खुम्चिँदै आएको नेपालको वैदेशिक व्यापार घाटा फागुनमा आएर बढेको छ। नेपालको आयात र निर्यात दुवै हिस्सा बढे पनि व्यापार घाटा उकालो लागेको छ।

भन्सार विभागले सार्वजनिक गरेको साउन देखि फागुनसम्मको तथ्यांक अनुसार यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १.६३ प्रतिशतले बढेको छ। जबकी, माघ महिनासम्म नेपालको वैदेशिक व्यापार घाटा ०.६६ प्रतिशतले खुम्चिएको थियो।

नेपालले आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्ममा ८ खर्ब ६३ अर्ब रुपैयाँ व्यापार घाटा बेहोरेको छ। जुन, अघिल्लो आर्थिक वर्षको यही अवधिमा ८ खर्ब ४९ अर्बमा सिमित थियो।

विभागका अनुसार अघिल्लो महिना अर्थात माघसम्ममा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब रुपैयाँ कायम थियो। जुन, त्यही अवधिको अघिल्लो वर्षमा ७ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

८ महिनापछि बढ्यो आयात

चालू आर्थिक वर्षको आठौं महिनामा आएर विदेशबाट नेपालतर्फ आउने आयातको परिणाम बढेको छ। तथ्यांक अनुसार अघिल्लो वर्षको ८ महिनामा नेपालले ९ खर्ब २४ अर्ब रुपैयाँको आयात गरेको थियो।

तर, यस वर्षको फागुन महिनासम्ममा नेपालले विदेशबाट ९ खर्ब ४३ अर्ब रुपैयाँको आयात गरेको छ। जुन, अघिल्लो वर्षको यही अवधिको तुलनामा १.६३ प्रतिशतको वृद्धि हो।

आयातको परिणाम बढेसँगै नेपालको व्यापार घाटा पनि चुलिएको छ।

जम्मा ८० अर्बको निर्यात

यस अवधिमा नेपालबाट विदेशतर्फ जम्मा ८० अर्ब ७७ करोड रुपैयाँको निर्यात भएको छ। जुन, अघिल्लो वर्षको यही अवधिको तुलनामा ७.१८ प्रतिशतले बढी हो।

अघिल्लो वर्ष नेपालबाट विदेशतर्फ ७४ अर्ब ९० करोड रुपैयाँको निकासी भएको थियो। यस वर्ष, नेपालबाट भारततर्फ प्रशोधित भटमासको तेल, अलैँची र चियाको निकासी बढ्दा समग्र निर्यात नै सुधारिएको देखिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्