उदयपुरमा हिजो संक्रमण पुष्टि भएका तीनजना विदेशबाट आएको खुलासा

काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा ९ वैशाखमा कोरोना संक्रमण पुष्‍टि भएका तीनजना नेपाली विदेशबाट आएको पाइएको छ।

५ र ६ वैशाखमा एकैपटक १३ जनामा कोरोनाको संक्रमणपछि संक्रमितको नजिकको सम्पर्कमा रहेका तीन सय २० जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो।

९ वैशाखमा राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्‍टि भएका भुल्केकै तीनजना विदेशबाट आएको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले तीनजना विदेशबाट केहीसमय अघि आएको खुलेको बताए।

“यहाँ विदेशबाट आएका अरु पनि देखिन्छन्, हामीले अनुसन्धान गरिरहेका छौं”, उनले भने, “हिजो संक्रमण भएका तीनजना विदेशबाट आएको देखिन्छ।”

प्रहरीका अनुसार एकजना युवक ११ फागुनमा दुबईबाट आएको, एकजना भारतको दिल्ली र अर्को युवक उत्तर प्रदेशबाट आएका हुन्। भारतबाट आएका युवकहरु कहिले आए भन्ने खुलेको छैन।

संक्रमित तीनजना विदेशबाट आएको पुष्‍टि भएपछि स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम थालेका छन्।

यसअघि संक्रमण भेटिएका १३ जनामध्ये ११ जना भारतीय नागरिक हुन्। उनीहरु भुल्केको एक मस्जिदमा बसिरहेका थिए। उनीहरु भारतबाट संक्रमित भएरै आएका हुन सक्ने आशंका गरिएको थियो।

तर पछिल्लो तीनजना पनि विदेशबाट आएको देखिएपछि भने उक्त क्षेत्रमा कोरोनाको संक्रमण अन्य व्यक्तिमा कसरी सर्‍यो भन्ने अझै यकिन भइसकेको छैन। मस्जिदमा बस्दै आएका भारतीय नागरिकले भने आफूहरु तीनचार महिनाअघि नै भारतबाट आएको दावी गर्दै आइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म उक्त मस्जिदमा शुरुमा संक्रमित पुष्‍टि भएका ११ जनामा संक्रमण कहाँ भएको भन्ने पत्ता लगाउन सकेका छैनन्। भारतबाटै संक्रमित भएर आएका हुन् वा कहाँबाट उनीहरुमा संक्रमण भएको हो यकिन हुन सकेको छैन। ती ११ जनामा संक्रमण पुष्‍टि भइसकेपछि त्यहाँ आवतजावत गर्ने अन्य १३ जनामा पनि अहिलेसम्म संक्रमण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्