धनगढीमा अस्पताललाई साढे १८ लाखको भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

कोका-कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिवृद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राङ्गणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै उक्त कुरा बताएका हुन्।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरीटेडेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उनले भने, “रेडक्रसले सरकारलाई सहयोग गर्दैछ र निष्पक्षतालाई ध्यान दिँदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्दछु।”

हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८५० सय रूपैयाँको आइसीयूमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्जिकल मास्क, २५०० जोडी सर्जिकल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा छन्।

ती सामग्रीहरूको जम्मा मूल्य १८ लाख ५१ हजार १०० रहेको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।

यसअघि गत असारमा पहिलो चरणमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलव्ध गराइएको थियो।

प्रतिक्रिया दिनुहोस्