भारतमा जनवरीदेखि कोरोनाविरुद्धको खोप सुरु हुन सक्ने

काठमाडौं। सिरम इन्स्टिच्युट अफ इन्डियाका प्रमूखकार्यकारी अधिकृत (सिइओ)ले नयाँ वर्षको सुरुआतसँगै भारतमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुन सक्ने बताएका छन्।

इन्डियन एक्सप्रेसको समाचारअनुसार अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप भारतमा निर्माण गर्नुका साथै परीक्षण गराइरहेको सिरमका सिइओ अदार पुनावालाले आपतकालिन प्रयोगका लागि अनुमति पाउने आशा व्यक्त गरेका छन्।

इकोनोमिक टाइम्स ग्लोबल बिजनेस समिटमा पुनावालाले आगामी २०२१ अक्टोबर सम्ममा भारतमा सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाइसक्ने आशा व्यक्त गरे। त्यसपछि जनजीवन सामान्य हुने पनि उनले बताएका छन्।

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप अहिलेसम्मको परीक्षण नतिजाअनुसार ७० प्रतिसत प्रभावकारी साबित भएको छ। भारतमा यसको आपतकालिन प्रयोगको लागि अनुमति प्राप्त गर्ने प्रक्रिया सुरू भइसकेको छ।

गत साता सिरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेकसँग त्यहाँको प्रशासनिक निकाय सम्बेक्ट एक्सपर्ट कमिटी (एसईसी) ले खोपको क्लिनिकल ट्रायलको प्रभाव तथा सुरक्षाबारेको तथ्यांक माग गरेको थियो। त्यसैको आधारमा आगामी जनवरीसम्ममा आपतकालिन प्रयोगका लागि अनुमति पाउने पुनावालाले अपेक्षा गरेको बताए।

“खोप सुरक्षित र प्रभावकारी छ भन्ने देखिइसकेको छ। जनवरीको सुरुदेखि हामीले यसको आपातकालिन प्रयोगको अनुमति पाउने आशा गरेका छौं,” उनलाई उद्यृत गर्दै समाचारमा लेखिएको छ, “२० प्रतिसत भारतीयलाई कोरोनाविरुद्धको खोप लगाएपछि आत्मविश्वास र भावना सुरू भएको देखिने छ।”

प्रतिक्रिया दिनुहोस्