कोरोनाबाट बच्न अत्यावश्यक छ मास्क, तर प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीलाई बेवास्ता नगरौँ

काठमाडौं। कोरोना भाइरसको महामारीले पूरा विश्वलाई तहसनहस बनाएको एक वर्ष नाघिसकेको छ। यसबीचमा हरेक मानवको पहिलो आवश्यकता मुखमा लगाउने मास्क बनेको छ।

कोरोना भाइरसको संक्रमणबाट मानिसलाई बचाउनका लागि विश्व स्वास्थ्य संगठनले घर बाहिर निस्कँदा वा अरू कसैको सम्पर्कमा आउनुभन्दा पहिला मुखमा अनिवार्य मास्क लगाउने सल्लाह दिएको छ। तर लामो समयसम्म मुखमा मास्क लगाइरहनु कसैका लागि पनि सहज विषय होइन।

लामो समयसम्म मुखमा मास्क लगाइरहँदा मानिसहरूले अन्जानमै विभिन्न गल्ती गरिरहेका हुन्छन्, जसका कारण मास्क लगाउँदा हुने फाइदाभन्दा बढी बेफाइदा हुन सक्छ। संक्रामक रोगका विज्ञहरू संक्रमणबाट बच्नका लागि मास्क लगाउँदा पनि विभिन्न पक्षमा ध्यान दिन सुझाउँछन्।

विज्ञको सुझावअनुसार मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरू -

मास्क भिज्यो भने तुरुन्त त्यसलाई फ्याँकेर अर्को मास्क लगाउनुपर्छ। मास्क भिज्यो भने अनुहारमा इरिटेसन तथा चिलाउनेजस्ता समस्या हुन सक्छन्। त्यसैले जुनसुकै समय पनि सफा र सुख्खा मास्क मात्र प्रयोग गर्नुपर्छ।

घरबाहिर निस्कने समय सधैँ आफूसँग एउटा अतिरिक्त मास्क राख्नुपर्छ। त्यसो भयो भने आफूलाई आवश्यकता पर्दा नयाँ मास्क लगाउन सकिन्छ। साथै आफ्नो सम्पर्कमा आउने मानिससँग मास्क नभएको अवस्थामा उसलाई दिएर पनि सुरक्षित हुन सकिन्छ।

बजारमा थुप्रै फेब्रिक्सबाट बनेका मास्क पाइन्छन्। तीमध्ये कटनबाट बनेका मास्क छालाको लागि सबभन्दा सुरक्षित हुन्छ। कटनबाट बनेको मास्क लगाउँदा छालामा हानि पुग्न पाउँदैन।

मुखमा मास्क लगाउँदा बिर्सेर पनि धेरै मेकअप गर्नुहुन्न। हेभी मेकअप गरेर मास्क लगाउँदा छालामा विभिन्न खालका दाग बस्ने समस्या हुन सक्छन्।

मास्कको प्रयोग आफ्नो नाक र मुखलाई राम्ररी ढाक्नका लागि गरिन्छ, जसले गर्दा हावाको माध्यमबाट फैलिने संक्रमणबाट सुरक्षित हुन सहयोग मिल्छ। तर यसका लागि मास्क कसिलो हुनुपर्छ भन्ने जरुरी चाँही हुन्न। आवश्यकताभन्दा बढी कसिलो गरेर मास्क लगाउँदा छालामा समस्या हुन सक्छ।

मास्क फुकाएपछि कुनै नरम खालको साबुनले दिनमा दुईपटक मुख धुनुपर्छ। यसो गर्दा छालासम्बन्धी थुप्रै समस्याबाट बच्न सहयोग पुग्छ।

संवेदनशील छाला हुने मानिसहरूले मास्क फुकालेपछि हाइपोएलर्जेनिक मोइस्चराइजर मुखमा लगाउनुपर्छ। तर मोइस्चराइजर प्रयोग गर्दा अन्य समस्या नहोस भन्नका लागि सम्बन्धित विज्ञको सुझाव लिनु राम्रो हुन्छ।

प्रतिक्रिया दिनुहोस्