भारतमा कोरोनाविरुद्धको दुई खोप, सबैलाई लगाउनुपर्ने बाध्यता छैन्

काठमाडौं। भारतमा दुई वटा कोरोना भ्याक्सिनले आपतकालिन प्रयोगको अनुमति पाएको छ। कोभिसिल्ड र कोभ्याक्सिनलाई भारतको ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया (डीसीजीआई) ले आपतकालिन प्रयोगका लागि दुई खोपलाई अनुमति दिएको हो।

यो अनुमति पाएसँगै भारतमा नयाँ खुशी छाएको छ। अबको केही दिनबाट आम नागरिकलाई खोप लगाउन थालिने छ। सरकारले सबै नागरिकलाई खोप लगाउने तयारी गरे पनि आम नागरिकको तर्फबाट थुप्रै सवाल उठेका छन्।

भारतमा अनिवार्य रूपमा खोप लिनुपर्ने हो वा होइन् भन्ने पनि आम चाँसोको विषय बनेको छ। तर, भारत सरकारले खोप सबैका लागि अनिवार्य गरेको छैन्। आफ्नो इच्छा अनुसार मात्र खोप लगाउन वा नलगाउन सकिनेछ।

भारतमा कहिलेबाट खोप दिन थालिनेछ भन्नेबारे केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमार्फत जानकारी दिने जनाएको छ।

शुरूमा केही प्राथमिकता तोकिएको छ। जसमा पहिला स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा काम गर्नेहरूलाई खोप दिइनेछ। त्यसपछि ५० वर्ष भन्दा माथिको उमेरका तथा विभिन्न रोगसँग लडिरहेकालाई पहिला खोप दिइनेछ। भारतमा पहिलो चरणमा ३० करोड मानिसलाई खोप दिइने सरकारी योजना छ।

खोप लगाउने वा नलगाउने आफ्नो अधिकारको कुरा हो। तर, यदि खोप लगाएको खण्डमा दुवै डोज पूरा लगाउनु पर्नेछ।

खोप लगाएपछि केही साइड इफेक्ट देखिएको खण्डमा थप उपचार गराउनु पर्नेछ। कोरोना संक्रमित व्यक्तिलाई भने निको भएको १४ दिनपछि मात्र कोरोना खोप दिइनेछ। २८ दिनको बीचमा दुई डोज खोप दिने गरी भारतमा तयारी थालिएको छ।

भारतमा खोप दिने सबै प्रक्रिया अनलाइनमार्फत गरिएको छ। त्यसका लागि अनलाइनमार्फत रजिस्ट्रेशन फारम भरेपछि कुन दिन कुन ठाउँमा खोप दिइने हो भन्ने जानकारी आउनेछ। सोही आधारमा खोप लगाउने व्यक्ति सम्बन्धित खोप केन्द्रमा खोप लगाउन जानुपर्ने गरी केन्द्रीय स्वास्थ्य मन्त्रालयले तयारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

बायोटेकका प्रवन्ध निर्देशक सुचित्रा एल्लाले खोप लगाएको ४५ देखि ६० दिनपछि पनि यसको असर देखिन सक्ने बताइन्। यसको अर्थ खोप लगाएपछि पनि मास्क अनिवार्य लगाउनुपर्छ।

कोरोना संक्रमणबाट मुक्त भएकाहरूले पनि खोप लगाउनुपर्ने बताइएको छ। यसरी खोप लगाउँदा उनीहरूको शरिरमा रहेको रोग प्रतिरोधी क्षमता थप बलियो हुने विज्ञहरुले बताएका छन्। खोप लगाइसकेपछि उनीहरूमा पुनः संक्रमणको सम्भावना हुदैंन।

भारतले संसारकै सबैभन्दा ठूलो खोप कार्यक्रम चलाउँदैं आएको छ। भारतले हरेक वर्ष २.६ करोड नवजात तथा २.९ करोड गर्भवती महिलालाई खोप लगाउँदैं आएको छ। त्यसैले भारतले पूरा देशभर कोरोना खोप दिनसक्ने गरी क्षमताको विकास गरेको छ।

प्रतिक्रिया दिनुहोस्