टिचिङ अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टर कुटिए

काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । आज बिहान एकजना ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार गरेनन् । आक्रोशमा आएका मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि नै लात हानेको उनको भनाइ छ ।

बुटवलबाट रिफर भएर आएका बिरामीको इन्फ्लुएन्जा ‘एचवानएनवान’ परीक्षण गर्नलाई टेकु पठाइएको थियो । परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि बिरामीलाई कोभिड वार्डमा सारिएको थियो । उपचारको क्रममा आज मृत्यु भएपछि उनका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हानको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दाशले जानकारी दिए ।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो तर उपचारकै क्रममा उनको आज बिहान निधन भएको थियो ।

डाक्टरमाथि कुटपिट गर्नेलाई महाराजगञ्ज प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । कोभिड संक्रमित बिरामीको उपचारमा रातिदिन खटिएका चिकित्सामाथि कुटपिट हुँदा मनोबल नै कमजोर भएको चिकित्सकहरूको भनाइ छ । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्