कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै

सुर्खेत। कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ ।

पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले जानकारी दिए ।

“चिकित्सक तथा स्वास्थ्यकर्मीपश्चात दोस्रो चरणमा सुरक्षाकर्मी र सञ्चारकर्मीलगायतका लागि खोप मगाउँछौँ”, उनले भने, “यस प्रदेशका निम्ति कति परिमाणमा खोप आवश्यकता हो भन्ने नभई ढिलो चाँडो खोप सबैले लगाउनुपर्छ ।”

उनका अनुसार स्वास्थ्य तथा सङ्ख्या मन्त्रालयले यस प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.अनुज भट्टचन खोप अभियानको संयोजक तोकिसकेको छ । उनले खोप लिएर आउने र प्रदेश स्वास्थ्य सेवा निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशमा खोप लगाउन पूर्वतयारीको काम थालिएको र छिट्टै स्वास्थ्य मन्त्रालयको मापदण्डबमोजिम यसलाई अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्