यी हुन् जाडोमा स्वस्थ रहने सात उपाय
काठमाडौं । उखानै छ, तन्नेरीजति बाघलाई, बुढापाका माघलाई। माघ लाग्यो। जाडो पनि एकपटक फेरी उच्च विन्दुमा पुग्ने बेला भयो। त्यसैमाथि मौसमविद्हरूले यो हफ्ता हिउँ र पानी पर्ने अनुमान पनि गरेका छन्। माघको जाडो सास्ती नै हुन्छ। तर, ऋतुको गुणलाई मानिसले बदल्न नै कहाँ सक्छ र? बरू अलिकति जुक्ति लगाए यसैमा रमाउन सक्छ। हरेक ऋतुको आफ्नै मजा पनि हुन्छ नि त। जाडोको मज्जा जाडोमा नलिए कहिले लिने?

यहाँ जाडोमा स्वस्थ रहने सात टिप्स प्रस्तुत छन्। यी टिप्सले तपाईंलाई जाडोको मज्जा लिन सघाउनेछन्।

१. मौसमी तरकारी र फलफूल खानुहोस्

अंगुर, किवि, सुन्तलाजस्ता फलफूल जाडोभरी पाइन्छन्। यी फलफूललाई बिहानी खाजमा प्रयोग गर्न सकिन्छ। त्यसैमा तरकारी पनि थप्न नबिर्सनुहोस्। ब्रोकाउली, फूलगोभी, गाँजरजस्ता तरकारी जाडोमा पाइने मुख्यजसो तरकारी हुन्। यिनको सुप बनाउनु त अझै स्वास्थ्यवर्द्धक हुन्छ।

२. चियालाई समय दिनुहोस्

चिया प्राचीन चीनको देन हो। हालै यसका महत्व पनि फेला परेका छन्। ब्ल्याक र ग्रीन टीमा ‘फ्लाभोनोड्स’ नामक रसायन हुन्छन् जसले एन्टीअक्सिडेन्टको काम गर्छन्। अध्ययनहरूले बताएका छन्, निरन्तर चिया पिउने मानिसका नसाहरू स्वस्थ हुन्छन् र उनीहरूलाई मुटुको रोग लाग्ने जोखिम कम हुन्छ। त्यसैले जाडोमा चियाको मज्जा लिन नबिर्सनुहोस् है। सबैभन्दा राम्रो त ग्रीन टी पिउनुहुन्छ।

३. क्वाँटी र खिचडी

माघे संक्रान्तिमा खिचडी खाने त नेपाली संस्कृति नै भइहाल्यो। तर, खिचडी जाडोभरी खाँदा ठिक हुन्छ। सकेसम्म धेरै सामग्री मिसाएको खिचडी उक्तम। साथमा क्वाँटी भयो भने झनै स्वस्थवर्द्धक हुन्छ। यी दुवैले ज्यान न्यानो बनाइराख्छन्। सकेसम्म रेसादार खाद्यान्न, बोडी, प्याज, लसुन, अदुवा राख्न नबिर्सनुहोस् है। नुन चाहिँ कम राख्नु राम्रो।

४. ठिक्क खानुहोस्

जाडोमा जस्तो पनि पच्छ। खाना पनि रूच्छ। त्यसैले धेरैले प्रशस्त खाने गर्छन्। यो स्वस्थ अभ्यास होइन। स्वास्थ्यका लागि कम खानु नै उपयुक्त हुन्छ। त्यसैले ठिक्क खानुहोस्। थालमा खाना पस्किनेबेलामा तरकारीको लागि प्रशस्त ठाउँ छुट्याउनु उपयुक्त हुन्छ।

५. घरभित्र सक्रिय रहनुहोस्

जाडोमा मानिसहरू शारीरिक व्यायाम निकै कम गर्छन्। काठमाडौंजस्ता ठाउँमा त डाक्टरहरूले बिहान, बेलुका वाकमा नजान सल्लाह दिएका छन्। यहाँको प्रदुषण र भौगोलिक बनोटका कारण बिहान-बेलुका हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छैन। तर घरभित्रै गरिने अभ्यास गर्न भने नछोड्नुहोस्। योग, नाच, कसरत विकल्प जे पनि हुनसक्छ।

६. थुपुक्क नबस्नुहोस्

जाडोमा कामै नपरी बाहिर हिँड्न त साह्रै सकस हुन्छ। जागिरेहरूलाई त जाडोका छोटा दिन अफिसदेखि घर र घरदेखि अफिस गर्दा नै सकिन्छ। तर थोरै समय बचत गर्ने हो भने घरमा पनि प्रशस्त समय मिल्छ। घरमा बस्दा थुपुक्क नबस्नुहोस्। केही न केही गर्नुहोस्। घर सफा गर्नुहोस्। किताब मिलाउनुहोस्। कोठा सजाउनुहोस्। तर थुपुक्क नबस्नुहोस्।

७.  छिटोछिटो हिँड्नुहोस्

पानी परेको छैन भने बाहिर निस्कन अल्छि नगर्नुहोस्। काठमाडौं उपत्यकामा पो बिहान-बेलुका नहिँड्ने, बाहिर त जतिबेला हिँडे पनि हुन्छ। बाहिर हिँड्दा सकेसम्म छिटोछिटो हिँड्ने गर्नुहोस्। छिटो हिँड्दा शरीर तात्छ। मांसपेशीहरू सक्रिय रहन्छन्। अनि तपाईंका सबैजसो ज्ञानेन्द्रिय पनि सक्रिय रहन्छन्। त्यसैले जाडो भयो भनेर कुनामा घुस्रेर नबस्नुहोस्। हिँड्नुहोस्, लम्किनुहोस्। तातो रहनुहोस्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्