तीस लाख जनसंख्याको लागि सुदूरपश्चिममा चार वटा भेन्टिलेटर !

कैलाली। कोभिड-१९ (कोरोना भाइरसको संक्रमण) सुदूरपश्‍‍चिम प्रदेशमा फैलिए संक्रमितलाई सघन उपचारका लागि पर्याप्त भेन्टिलेटर उपलब्ध छैनन्।

सुदूरपश्‍चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर जम्मा चारवटा मात्र भेन्टिलेटर छन्। त्यो पनि एकै ठाउँमा छैनन्। झण्डै ३० लाख जनसंख्या रहेको सुदूरपश्‍चिममा सात लाख ५० हजार जनाका लागि एउटा मात्रै भेन्टिलेटर उपलब्ध छ।

प्रदेशका सरकारी अस्पतालमा चारवटा भेन्टिलेटर छन्। चारजनामा संक्रमण देखिए एक जनालाई दार्चुला, अर्कोलाई डडेल्धुरा, तेस्रोलाई कञ्‍चनपुर र चौथौलाई सेती प्रादेशिक अस्पतालमा राख्नुपर्ने अवस्था छ।

यस्तै, आईसीयु र कन्सल्ट्यान्ट फिजिसियन तथा क्रिटिकल केयर फिजिसियनको संख्या पनि अत्यन्तै न्यून छ। निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच र महाकाली अस्पतालमा चार गरी नौवटा आईसीयु बेड छन्।

यस्तै, प्रदेशभर कन्सलट्याण्ट फिजिसियन तथा क्रिटिकल कन्सलट्यान्ट नौजना मात्रै छन्।

निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालमा तीन, महाकाली अस्पतालमा तीन, बाजुरा, दार्चुला र डडेल्धुरा १/१ जना कन्सलट्यान्ट फिजिसियन र क्रिटिकल कन्सलट्यान्ट फिजिसियन छन्।

निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्‍चिममा कोरोना संक्रमण फैलिए तीन लाख ३३ हजारजना बराबर एक आईसीयु बेड र सोही हाराहारीमा एक जना डाक्टरको भागमा उपचार गर्नुपर्ने अवस्था छ।

सुदूरपश्‍चिममा सरकारी दरबन्दीमा ५९ जना मेडिकल अफिसर, एक सय ५१ जना स्टाफ र नर्सिङ सुपरभाइजर, ८४ जना अनमी र ५३ जना ल्याब टेक्निसियन कार्यरत छन्। जनसंख्या र संक्रमणको जोखिमसँग जुध्‍न यो निकै कम जनशक्ति हो।

प्रदेशका नौवटै जिल्लामा कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएका आईसोलेसन वार्डमा एक सय ६४ बेड मात्र छन्। र ती अस्पतालमा ९४ बेड मात्र थप्‍न सक्ने अवस्था रहेको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्यान्ट फिजिसियन डा. निराजनदत्त शर्माले स्वास्थ्य क्षेत्रको भौतिक र जनशक्तिको अवस्था अत्यन्त न्यून भएकोले कोरोनाबाट जोगिन तथा संक्रमण फैलिन नदिन लकडाउनको अवधीमा बाहिर ननिस्की घरमै बस्‍नु उत्तम उपाय रहेको बताए।

प्रतिक्रिया दिनुहोस्