नौलो होइन सामाजिक दूरी, बर्षौंदेखि चलिआएको छ यो अभ्यास

कोभिड-१९सँग जुध्न अभ्यास शुरु गरिएको सामाजिक दूरी (भौतिक दूरी) ले समाजलाई चरम असर पुर्‍याइरहेछ। साथै सामाजिक दूरीले साँच्ची नै काम गर्छ त भन्ने जिज्ञासा पनि जन्माइदिएको छ। रोग उदविकासशास्त्रीहरूका अनुसार प्रकृतिसँग यो जिज्ञासाको जवाफ छ।

बाँदर, लोबस्टर्स, किरा र चराहरूले आफ्नो समूहका रोगी सदस्य चिन्न सक्छन् र उसलाई समूहबाट अलग्गै राख्न सक्छन्। यति धेरै जीवहरूमा रोगसँग जुध्ने यस्तो परिष्कृत व्यवहारको विकास किन भयो त ? किनभने सामाजिक दूरीले उनीहरूलाई अस्तित्वमा रहन सघाउँछ।

उदविकासको कोणबाट हेर्दा, महामारीको समयमा प्रभावकारी रूपमा सामाजिक दूरी कायम गर्न सक्ने जीवको स्वस्थ रहने सम्भावना बढ्छ र उनीहरूले धेरै सन्तान पैदा गर्न सक्छन्। ती सन्ततिले पनि रोगसँग सामना गर्न सामाजिक दूरी कायम गर्छन्।

हामीले संक्रमणबाट जोगिन जीवहरूले कस्तो बानी व्यहोरा अपनाउँछन् र कुनै रोग फैलिनुमा बानी व्यहोराको भूमिका किन हुन्छ भन्नेबारे अध्ययन गर्‍यौं। विभिन्न बानी व्यहोराको विकास गरेका जीवमा संक्रमणको सम्भावना कम हुँदो रहेछ। समूहमा बस्ने जीवहरूमा सामाजिक दूरीको अभ्यास सर्वव्यापी पाइयो। यो सर्वव्यापकताले सामाजिक दूरीको अभ्यासले संक्रामक रोगबाट बच्न जीवहरूलाई पटक-पटक सघाएको पुष्टि हुन्छ।

त्यसो भए हामीले अन्य जीवबाट सामाजिक दूरीबारे के सिक्न सक्छौं त ?अनि उनीहरूका अभ्यास र मानिसका अभ्यासबीच के समानता र के फरक हुन्छन् त ?

जनावरहरूको नियम

प्रकृतिमा पाइने केही किराहरू सामाजिक दूरीको एकदमै धेरै अभ्यास गर्नेमध्ये पर्छन्। धेरै प्रकारका कमिलाहरू सयौं र हजारौंको समूहमा एउटै गोलोमा बस्छन्। हाम्रा केयर सेन्टर, कलेजको छात्रावास र नर्सिङ होमले जस्तै कमिलाका यी गोलाहरूले पनि संक्रामक रोगहरू फैलाउने क्षमता राख्छन्।

यो जोखिमसँग जुध्न कमिलाहरूमा सामाजिक दूरी कायम गर्ने क्षमता हुन्छ। जब कुनै संक्रामक रोग उनीहरूको समाजमा फैलिन जाल्छ, बिरामी र स्वस्थ कमिलाले सकेसम्म रोग संक्रमण कम हुनेगरी बानीव्यहोरा फेर्छन्। बिरामी कमिला आफैँ अरूबाट अलगिन्छ। अहिले चलेको भाषामा भन्दा सेल्फ-आइसोलेसनमा जान्छ। र, स्वस्थ कमिलाहरूले गोलोमा रोग रहँदासम्म अरूसँगको सम्पर्क घटाउँछन्।

स्वस्थ कमिलाहरूले गोलोको सबैभन्दा जोखिममा रहेका सदस्यहरू रानी र नर्सहरूलाई कडा सुरक्षा घेरामा राख्छन्। त्यसो गर्न उनीहरूले रोग सार्न सक्ने खानाबाट उनीहरूलाई अलग्गै राख्छन्। यी अभ्यासहरूले रोग फैलिने सम्भावना घटाइदिन्छ र गोलाका सदस्यहरूलाई जिवित राख्छ।

अरू जीवहरूले पनि कसलाई सामाजिक दूरीमा राख्ने र कसलाई जोखिममा राख्ने भन्ने छनोट गर्छन्। त्यसको एउटा उदाहरण म्यान्ड्रिल्सहरू हुन्। यी एकप्रकारका बाँदर हुन्। यी बाँदरहरूले परिवारको बिरामी सदस्यलाई एकदमै स्याहार गर्छन् तर रोगीलाई समाजबाट भने अलग्गै राख्छन्।

त्यस्तै अन्य जीवले पनि रोग लागेको बेला आवश्यक सामाजिक सम्बन्ध कायम राख्छन्। जस्तै, रक्तजिवी चमेराहरूले बिरामी भएको समूह सदस्यलाई निरन्तर रूपमा खाना पुर्‍याउँछन् तर उसलाई समूहमा क्रियाशिल हुन भने दिँदैनन्। यसले सामाजिक साथ दिँदादिँदै पनि परिवारलाई भने संक्रमणको जोखिमबाट मुक्त राख्छ।

सामाजिक दूरीका यी ससाना अभ्यासले सामाजिक जीवनका फाईदालाई कायम राख्दै रोग फैलिने जोखिम भने घटाउँछ। यो अभ्यासले अवश्य पनि धेरै जीवहरूको उद्विकासमा पनि सघाएको छ।

हामीलाई के ले मान्छे बनाउँछ ?

रोगसँग जुध्ने मानिसको अभ्यास पनि उद्विकासको एउटा महत्वपूर्ण चिनारी हो। यसले होमिनिड कुलका हाम्रा पुर्खाहरूले पनि अहिले हामीले गरेजस्तै विभिन्न रोगको सामना गरेका थिए भन्ने बताउँछ।

कमिलाहरूमा जस्तै हामीले पनि कोभिड-१९ बाट जोगिन जेष्ठ नागरिक र दिर्घ रोग भएका जोखिमयुक्त व्यक्तिलाई संक्रमित हुन सक्ने व्यक्तिको सम्पर्कबाट टाढा राखेका छौं। बाँदर र चमेराले जस्तै हामीले पनि अनावश्यक सामाजिक सम्पर्क घटाएका छौँ तर बिरामी व्यक्तिलाई आवश्यक स्याहार र हेरचाह पुर्‍याउन छोडेका छैनौं।

अरू पनि केही महत्वपूर्ण फरकहरू छन्। बिरामीलाई स्याहार गर्ने बेलामा मानिसले साथी र नातेदारजस्ता आफ्ना परिवार सदस्यभन्दा टाढाको स्याहार गरेर आफ्नो जोखिम बढाउँछ। स्वास्थ्यकर्मीहरूले त त्यो भन्दा पनि परसम्म पुगेर आफ्नो जोखिम बढाइरहेका हुन्छन्।

परोपकारिता मात्र मानिसलाई अरू जीवबाट अलग गराउने विशेषता होइन। अरू जीवहरू आफ्नो समूहका सदस्य बिरामी भएको पत्ता लगाउन ससाना संकेतहरूमा भर पर्नुपर्छ। तर, हामीसँग त जीवाणु पत्ता लगाउने, बिरामी फेला पारेर उसको उपचार गर्ने परिष्कृत प्रविधि छ। मानिसले स्वास्थ्य संकटबारे संसारैभरी सम्पर्क गर्न सक्छ जसले हामीलाई रोगसँग जुध्न बानीव्यहोरा विकास गर्न सघाउँछ। यो नै मानिसले उदविकासको क्रममा पाएको सबैभन्दा ठूलो सुविधा हो।

भर्चुअल प्लेटफर्महरूलाई भने धेरै धन्यवाद छ जसको माध्यमबाट मानिसहरूले भौतिक सम्पर्क कायम नगरीकन पनि सामाजिक सम्बन्धहरू कायम राख्न पाएका छन्। यस हिसाबले हेर्दा अरू जीवहरूले सामाजिक दूरीको अभ्यास गर्छन् भने हामीले भौतिक दूरीको।

सामाजिक दूरीको क्षति

प्रकृतिले सिकाएको छ- रोग फैलिन नदिने सबैभन्दा प्रभावकारी उपाय सामाजिक दूरी हो। अरूभन्दा यो उपाय संसारैभरी सजिलैसँग र छिटै नै लागू गर्न सकिन्छ। भ्याक्सिन र औषधीलाई जस्तो बानीव्यहोरा परिवर्तन गर्न अनुसन्धान र परिक्षण आवश्यक पर्दैन।

यद्यपि, सामाजिक दूरीले कहिलेकाहीँ अस्थिरता पनि पैदा गर्न सक्छ। ‘ब्यान्डेड मंगुज’जस्ता केही सामाजिक जीवहरूले भने आफ्ना सदस्यहरू बिरामी हुँदा पनि सामाजिक दूरी कायम गर्दैनन्। यी जीवहरूका लागि सामाजिक दूरीले गर्दा हुने क्षति निकै नै बढी हुनसक्छ। अहिले हामीले पनि भोगिरहेका छौं, मानव समाजमा पनि सामाजिक दूरीले गम्भिर क्षति पुर्‍याउँछ। यस्तो क्षति कमजोर तहमा भएका व्यक्तिले बढी व्यहोर्नुपर्छ।

सामाजिक दूरीको यस्तो हानी हुँदाहुँदै पनि किन केही जीवले यही विकल्प रोज्छन् ? छोटोमा भन्दा, यस्तो बानीव्यहोराले रोगबाट जोगाउँछ र सामाजिक जीवन अझ सघन हुन सघाउँछ। आवश्यक परेको बेला सामाजिक दूरीको अभ्यास अपनाएर मानिस र अन्य जीवहरूले रोगको क्षतिलाई घटाएका छन् भने सामाजिक जीवनका अन्य फराकिला सुविधाभोग गरेका छन्।

सामाजिक दूरीले हाम्रो समाजलाई गम्भिर क्षति पुर्‍याउन सक्छ तर यसले महामारीलाई पनि ठेगान लगाउँछ। नपत्याए कमिलालाई सोध्नुस्।

(डाना हावले भर्जिनिया टेकमा बायोलोजिकल साइन्सेजकी प्राध्यापक हुन् भने जुलिया बक नर्थ क्यारोलिना विलिमीन्गटनकी सह-प्राध्यापक। ‘द कन्भर्सेसनमा पहिलो पटक प्रकाशित यो लेख ‘स्क्रोल इन’बाट लक्ष्मण श्रेष्ठले अनुवाद गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्