कोभिड-१९ महामारीले विपत्तिसँग जुध्न हामीलाई सिकाएका आठवटा पाठ

नोबल पुरस्कार विजेता जीववैज्ञानिक जोसुवा लेडरबर्गले चेतावनी दिएका थिए, ‘यो संसारमा मानवजातिको निरन्तर प्रभुत्वलाई सबैभन्दा ठूलो चुनौती भाइरस हो।’ विश्वव्यापी महामारी कोभिड-१९ यो अस्तित्वगत यथार्थको जनाउ घण्टी हो।

नोबल कोरोना भाइरसले हामीलाई प्राकृतिक वा मानव-निर्मित जसरी भए पनि सिर्जित हुने विश्वव्यापी सुरक्षा चुनौतीबारेको हाम्रो चिन्तन प्रणाली र तयारीबारे आमूल परिवर्तन (प्याराडाइम सिफ्ट) ल्याउन उत्प्रेरित गरेको छ।

जेनोमिक्स (जिनोमहरूको संरचना, काम, उद्विकासबारे अध्ययन गर्ने विज्ञान) र जीन एडिटिङ लगायत जीवविज्ञानमा भएको क्रान्तिले राज्य र गैर-राज्य दुवैलाई जिवाणु र भाइरसहरूको डिजाइन गर्न सक्षम बनाइदिएको छ। यसका राम्रा, नराम्रा दुवै पक्ष छन्। यसको सकारात्मक पक्ष हो, यसरी आक्रामक जिवाणुहरूको डिजाइन गर्न सक्दा मेडिकल अनुसन्धान बलियो भएको छ। नकारात्मक पक्ष, यसलाई जैविक हतियारको रुपमा पनि प्रयोग गर्न सकिन्छ। बायोटेक्नोलोजीको यो द्वेध चरित्रले यो साँच्ची नै लाभदायक हो वा हानीकारक भन्ने छुट्याउन अप्ठ्यारो बनाइदिएको छ।

सामाजिक सञ्जालमा अफवाह छाए पनि आजसम्म नोबल कोरोना भाइरस कुनै पनि प्रयोगशालामा बनेको पुष्टि भएको छैन। कोभिड-१९ प्रकोप प्राकृतिक रुपमा सिर्जित हो। तर यसो भन्दैमा जसले जुन चेतावनी दिएको छ त्यसलाई नजरअन्दाज गर्न मिल्दैन।

यो मानिसलाई आक्रमण गर्न थाहा भएकामध्ये सातौं प्रकारको कोरोना भाइरस हो। यो जंगली जनावरसँग सम्पर्कमा जाँदा मानिसमा सरेको हुनुपर्छ। कोभिड-१९ तुलनात्मक रुपमा कम हानीकारक भए पनि आनुवंशिक रुपमा समान रहेका सार्स-२००३ भन्दा धेरै गुणा संक्रामक छ। कोभिड-१९ बाट विकास हुने अर्को नयाँ खालको कोरोना भाइरस यो भन्दा कम संक्रामक र कम हानीकारक हुने कुनै सुनिश्चितता छैन।

ह्वाइट हाउसका पूर्व सल्लाहकार र राष्ट्रिय सुरक्षा विश्लेषकका रुपमा हामीले यो महामारीबाट केही पाठ सिक्नैपर्ने देखेका छौं जसले राष्ट्रिय तयारीमा आमूल परिवर्तनको माग गर्छ।

पहिलो, हामीले यसको तीव्रतालाई स्वीकार्नैपर्छ। हामीले यसबाट पाठ सिक्नैपर्छ र भविष्यमा भाइरसमा हुने उत्परिवर्तनबाट आउनसक्ने जोखिमबारे सचेत हुनुपर्छ। यो कसरी विश्वव्यापी महामारी बन्न पुग्यो भन्ने अध्ययन गर्नुपर्छ। भविष्यमा आउनसक्ने यस्ता खाले विपत्तीबाट जोगिन कस्ता नीति आवश्यक पर्छन् भनेर अध्ययन हुनुपर्छ।

दोस्रो, यो महामारी सार्वजनिक हितको क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने जनाउ घण्टी हो। सन् २००१ को एन्थ्य्राक्स आक्रमण, २००९ को एच१एन१ फ्लु महामारी र सार्स-२००३ प्रकोपताका सहयोगको बाढी आएको थियो। तर राजनीतिक नेताहरूको स्वार्थले त्यसलाई कमजोर बनायो। सुदृढ नीति भएको त्यतिबेलाका अर्थतन्त्रमा परेको असरबाट धेरै मानिसको जीवन जोगाउन सकिन्थ्यो। तर ती नीति लागू नै गरिएनन्।

तेस्रो, हामीले ठूलो निकै नै ठूलो मात्रामा सोच्नुपर्नेछ। हामीले परीक्षण, खोज, कन्ट्याक्ट ट्रेसिङ, डाटा वितरण, प्रतिरोधात्मक उपाय, मेडिकल तालिम, टेलिमेडिसिन लगायत अर्थात् राष्ट्रिय प्रतिरोध प्रणालीमा खर्च गर्नुपर्छ। त्यसको लागि नेताहरूले विज्ञानमा आधारित तथ्यहरूमा विश्वास गर्नुपर्छ। अवैज्ञानिक राजनीतिक नाराहरूमा भुल्नु हुँदैन।

चौथो, स्वास्थ्य, सुरक्षा र अर्थतन्त्रबीच रणनीतिक सामञ्जस्यता कायम भएको छैन। यी तीन क्षेत्र जोडिनुपर्छ।

पाचौं, कठिन परिस्थितिमा पनि अर्थतन्त्र सुचारु राख्ने तयारी हुनपर्छ। अहिले वितरण प्रणाली नै खण्डित छ। पूर्वतयारीको अभावले यस्तो भएको हो। त्यस्तै महामारीका बेला विश्वकै वितरण प्रणाली खण्डित हुनसक्छ। त्यसैले परनिर्भरता कम गर्नुपर्छ।

छैठौं, यो महामारीले प्रमाणित गरेको छ, यस्ता स्वास्थ्य समस्यासँग जुध्ने काम केवल सरकारको होइन। नीजि क्षेत्रको पनि यसमा प्रशस्त भूमिका हुन्छ। नीजि क्षेत्रले भविष्यमा आउने यस्ता खालका जोखिमसँग जुध्न अनुसन्धानमा खर्च गर्नुपर्छ।

सातौं, दुवै नीजि र सरकारी तहले नै यस्ता खालका महामारीको बेलामा पनि अर्थतन्त्र सुचारु राख्ने गरी योजना बनाउनुपर्छ।

आठौं, हामीले स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ। त्यसका लागि स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य स्याहार र गुणस्तरीय शिक्षा पु¥याउनुपर्छ।

(जोल म्याकक्लियरीले जिम्मि कार्टरको समयमा जैविक प्रतिरोधविज्ञको रुपमा ह्वाइट हाउसमा काम गरेका थिए। मार्क मेडिसले बिल क्लिन्टनको कालमा ‘नेसनल सेक्युरिटी काउन्सिल’मा काम गरेका थिए। काउन्टर पन्चमा प्रकाशित यो लेखमा उनीहरूले प्रस्तुत गरेको सुझावलाई नेपालसँग मिल्नेगरी लक्ष्मण श्रेष्ठले प्रस्तुत गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्