दुस्वप्न भुल्ने सपनाको मियो भेट्टाएका पूर्व कमलरी

दाङ। सम्झँदा दुस्वप्न जस्तो लाग्छ उर्मिला चौधरीलाई आफ्नै विगत । जीवन उनको थियो तर जिन्दगीको लगाम अर्कैको हातमा । परिश्रम उनको थियो तर पसिनाको फल अर्कैको हातमा ।

कमलरी थिइन् उनी । अर्कैको घरमा घरेलु दास सरह जीवन जो बिताइरहेकी थिइन् ।

तर, जिन्दगीले कोल्टे फेरेको छ अहिले । सानोतिनो भए पनि उनको आफ्नै किराना पसल छ । त्यहीबाट उनले बनाएको संसारको आफ्नै क्षितिज छ र छन् केही सपना ।

यहाँसम्म आइपुग्न उर्मिलाले मात्र होइन देशले नै एउटा यात्रा गरेको छ ।

यो यात्राको शुरुवात २०५७ सालमा नेपाल सरकारले कमैया मुक्ति घोषणा गरेसँगै शुरु भएको थियो ।

कमैया मुक्तिसँगै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमलरी प्रथाविरुद्ध अभियान शुरू भएको थियो ।

१३ असार २०७० मा नेपाल सरकारले वैधानिक रूपमै कमलरी मुक्तिको घोषणा ग¥यो । तर घोषणाले मात्र वास्तविक मुक्ति सम्भव थिएन । उनीहरूलाई घरेलु मजदूरबाट आत्मनिर्भर नबनाउँदासम्म मुक्ति कागजी घोषणामा सिमित हुन्थ्यो ।

त्यसैले पूर्व कमलरीलाई वास्तविक मुक्ति दिलाउन केही प्रयास थालिए । त्यसका लागि केही काम भए । शुरूमा कार्यस्थलबाट उद्धार गरियो । उनीहरूलाई विद्यालय भर्ना गरियो । सीप सिकाइयो । र, रोजगारका अवसर सिर्जना गर्ने प्रयत्न थालियो ।

तर आर्थिक रूपमै सशक्त नबनाउँदासम्म सशक्तिकरण दिवास्वप्न बन्थ्यो ।

त्यसैले पाँच जिल्लामा सहकारी स्थापना गरी आर्थिक सशक्तिकरणको यात्रा थालियो । यिनै सहकारी संस्था अहिले पूर्व कमलरीका भावी सपनाको मियो बनेका छन् ।

कमलरी उन्मूलन गरिएका पाँच वटै जिल्लामा सहकारी संचालन भएका छन् । जम्माजम्मी ४२ वटा सहकारी दर्ता भएका छन् ।

यी सहकारीहरूले कमलरीलाई प्रत्यक्ष रुपमा संलग्न गराई आर्थिक उपार्जनका काम गरिरहेको उर्मिला चौधरी बताउँछिन् ।

यी सहकारीले अहिले आर्थिक संकलन र उपार्जनलाई जोड दिइरहेका छन् । उर्मिलाका अनुसार घुम्तीकोष मार्पmत् रकम संकलन र लगानीका लागि ऋण दिने काम हुन्छ । पूर्व कमलरीलाई तरकारी खेती, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, किराना तथा फलफूल पसल लगायतका व्यवसायिक कामका लागि सीप सिकाउने काम हुन्छ ।

यी अभ्यासले पूर्व कमलरीलाई आर्थिक टेवा दिएको र आत्मनिर्भर उन्मुख बनाएको उर्मिलाको अनुभव छ ।

स्थापना कालदेखि नै ‘लावाजुनी सहकारी’मा आवद्ध ‘मुक्त कमलरी विकास मञ्च’की निवर्तमान अध्यक्ष सुनिता चौधरी पनि पूर्व कमलरीले सहकारीमार्फत् लाखौंको कारोवार गरिरहेको भन्दै खुसी व्यक्त गर्छिन् ।

“अहिले पुर्व कमलरी बहिनीहरुले सहकारीको सहयोगमा धेरै आर्थिक उपार्जनको काम गरिरहेका छन्”, सुनिता भन्छिन्, “अब त सहकारीको विषयमा तालिम, प्रशिक्षण दिने, विभिन्न व्यवासायको लागि सीप सिकाउन समेत उनीहरु सक्षम भैसकेका छन् ।”

सहकारीमा आवद्द भएकै कारण पुर्व कमलरीहरु अहिले छोटो तालिम सहित विना व्याजको ऋण लिएर चिया नास्ता, फ्रेस हाउस, बाख्रा पालन, सिलाई कटाई, गार्मेन्ट, जुत्ता बनाउने, अनमी, जेटिए, ल्याब असिस्टेन्ट, अटोमोबाइल आदि व्यवसाय गरिरहेका छन् ।

लामो समयसम्म मुक्त कमलरीको क्षेत्रमा काम गरिरहेको ‘मुक्त कमलहरी विकास मञ्च’का अनुसार अहिले पूर्व कमलरीहरुले स्थापना गरेको सहकारीमा ४८ प्रतिशत पूर्व कमलरी, १८ प्रतिशत उनीहरुको परिवार र ३४ प्रतिशत अन्य परिवार आवद्ध छन् ।

संस्थाले दिएको जानकारी अनुसार विभिन्न सहकारीमा गरी हाल करीब १२ हजार १४४ शेयर सदस्य पुगेका छन् । जसमा पाँच हजार ८०० पूर्व कमलरी मात्रै रहेका छन् । त्यस्तै उनीहरुले मासिक तथा दैनिक बचत पनि गरिरहेका छन् ।

मुक्त कमलहरी विकास मञ्चका अनुसार पुर्व कमलरीले स्थापना गरेको सहकारी कोषमा हालसम्म सात करोड ९८ लाख ५२ हजार ७२० रुपैँया र मुक्त कमलहरी विकास मञ्चले उपलब्ध गराएको घुम्ती कोषमा एक करोड पाँच लाख ४४ हजार १६ रुपैँया गरी

जम्मा ९ करोड ३ लाख ९६ हजार,७३६ हजार रुपैँया जम्मा भएको छ ।

सहकारीबाट ऋण लिएर मात्रै ३८७ जना मुक्त कमलहरीहरुले व्यवसाय गरिरहेको मञ्चले जनाएको छ । सहकारी मार्फत नै एकहजार ७२१ जनाले छोटो अवधिको र ४४८ जनाले लामो अवधिको तालिम लिई रोजगार तथा स्वरोजगारतिर उन्मुख भएका छन् ।

यस वर्ष मात्रै ३४० जनाले छोटो अवधिको तालिम लिएर रोजगारको लागि सक्षम बनेको मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्