कोही व्यक्ति किन बहुप्रतिभाशाली हुन्छ ?

- ड्याभिड रोब्सोन

सन् १९३० र ४० को दशकमा हेडी ल्यामर हलिउडमा चर्चित अभिनेत्री भइसकेकी थिइन् । तर थोरैलाई मात्र आविष्कारप्रति उनको रुचि थाहा थियो । उनले पहिले नै आफ्ना प्रेमीका लागि हवाइजहाजको डिजाइन बनाइसकेकी थिइन् ।

ल्यामरले पछि जर्ज एन्थिल नामका आत्मिय व्यक्तिलाई भेटिन् । एन्थिल आफैमा गतिला पियानिस्ट, कम्पोजर र उपन्यासकार थिए । अनि इन्जिनियरिङमा पनि उनीहरुको उत्तिकै रुचि थियो । उनीहरुले युद्धको समयमा शुरु शक्तिले रेडियो संकेतहरु रोकिदिएको थाहा पाएपछि त्यसको समाधान खोज्न थाले । त्यसको परिणामको रुपमा सिग्नल पठाउने नयाँ प्रविधिको विकास भयो, जसलाई ‘फ्रिक्वेन्सी–हपिङ स्प्रिड स्पेक्ट्रम’ भनिन्छ । झण्डै–झण्डै आजको वायरलेस प्रविधिजस्तै थियो यो आविष्कार ।

आजको जिपिएस र वाइफाइको विकासमा यो प्रविधिको ठूलो योगदान छ ।

चर्चित अभिनेत्री र संगीतकारको यो आविष्कारको कथाले धेरैलाई छक्क पार्नसक्छ । तर पछिल्ला केही खोजहरुले हरेक मानिस उसैगरी सफल नभए पनि बहुरुचिलाई जोड दिँदा सन्तुष्टि, कार्यक्षमता र सिर्जनशीलता प्राप्त हुने देखाएको छ ।

के हो बहुप्रतिभा ?

त्यसो त बहुप्रतिभा (पोलिम्याथ)को परिभाषा सधैंभरी बहसको विषय बनिआएको छ । पोलिम्याथ भन्ने शब्दको जरा प्राचीन ग्रिकसम्म पुग्छ । यसको पहिलो प्रयोग भने १७औं शताब्दीमा भएको थियो, जसको अर्थ हुन्थ्यो– धेरै थोक जानेको मानिस । तर कति थरी र कतिसम्म जानेपछि पोलिम्याथ भइन्छ भन्ने निधो गर्न भने गाह्रो हुन्छ ।

धेरै अनुसन्धानकर्ताहरु कम्तिमा दुई वटा फरक फरक विधामा पकड हुनेहरुलाई पोलिम्याथ ठान्छन् ।

पोलिम्याथबारे वकस अहमदले ‘द पोलिम्याथ’ नामक पुस्तकमा प्रशस्त चर्चा गरेका छन् ।

अहमद आफैले आजसम्म विभिन्न विधामा काम गरेका छन् । उनले अर्थशास्त्रमा अन्डग्य्राजुएट डिग्री हासिल गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र न्युरोसाइन्समा पोस्ट–ग्य्राजुएट । त्यस्तै उनले कुटनीतिक पत्रकार र शारीरिक व्यायाम प्रशिक्षकको रुपमा काम पनि गरेका छन् । अहिले उनले ‘भिजुअल आर्ट’प्रति आफ्नो रुचि प्रस्तुत गरिरहेका छन् ।

यति धेरै उपलब्धी हासिल गर्दा पनि उनी आफैलाई पोलिम्याथ ठान्दैनन् । इतिहासमा चर्चित पोलिम्याथबारे गरेको विस्तृत खोजमार्फत् उनले पोलिम्याथबारे निश्चित धारणा बनाएका छन् ।

उनका अनुसार कम्तिमा तीनवटा फरक फरक विधामा महत्वपूर्ण योगदान गर्नेहरु पोलिम्याथ हुन् । जस्तो कि, लियोनार्दा दा भिन्ची । भिन्ची चित्रकार, आविष्कार र शरिरविज्ञानविद् थिए । जस्तै, जोहान वल्फगांग भोन गेथे । गेथे महान् लेखक थिए जसको वनस्पतिशास्त्र, भौतिकशास्त्र र खनिजशास्त्रमा बराबर ज्ञान थियो । जस्तै, फ्लोरेन्स नाइटिंगेल । नाइटिंगेलले नर्सिङको शुरुवात मात्र गरिनन् उनी तथ्यांकशास्त्र र धर्मशास्त्रकी ज्ञाता पनि थिइन् ।

विभिन्न व्यक्तिहरुको जीवनको र मनोवैज्ञानिक विश्लेषणको अध्ययन गरेर अहमदले मानिसहरु कसरी पोलिम्याथ बन्न सफल हुन्छन् भन्ने खोज गरेका छन् ।

पक्कै पनि औषतभन्दा बढी बुद्धिले सहयोग गर्छ नै । “धेरै हदसम्म यसले सिकाइलाई सहज बनाउँछ”, अहमद भन्छन् ।

तर पोलिम्याथ हुन यत्ति मात्र भएर पुग्दैन । ग्रहणशीलता र जिज्ञासा पनि उत्तिकै आवश्यक हुन्छ ।

“तपाईंलाई केही विषयमा रुचि जाग्यो, तपाईं कहाँ पुग्छु ख्याल नै नगरी त्यता लाग्नुहुन्छ भने पोलिम्याथ हुने सम्भावना हुन्छ”, अहमद व्याख्या गर्छन् । यस्तो खोजले थाहै नभएको क्षेत्रतिर पनि लैजान सक्छ । पोलिम्याथ आत्मविश्वासी हुन्छन् । उनीहरु आपैmलाई सिकाउन खुशी मान्छन् । उनीहरु व्यक्तिवादी पनि हुन्छन् जसले आफ्ना ईच्छापूर्तिलाई जोड दिन्छन् । त्यही व्यक्तिवादीताले उनीहरुलाई सफलतातिर डो¥याइरहेको हुन्छ । उनीहरु कसले के भन्ला र कसलाई के पुगेन भन्नेमा अलमलिँदैनन् ।

यस्तो विशेषता संसारलाई हेर्ने पूर्ण दृष्टिकोणसँग पनि जोडिएको हुन्छ ।

“पोलिम्याथ यो क्षेत्र वा विधाबाट त्यो क्षेत्रमा मात्र जाँदैन उसले तिनीहरुबीचको सम्बन्ध पनि खोज्छ । त्यसैले उसले हरेकलाई अरुभन्दा भिन्दै तरिकाले हेर्छ”– अहमद भन्छन् ।

हरेक व्यक्तित्वजस्तै यी गुणहरुको पनि निश्चित आनुवंशिक आधार हुन्छ तर यी गुणको विकासमा वातावरणले पनि उत्तिकै भूमिका खेल्छ । धेरै बच्चाहरुको विभिन्न क्षेत्रमा रुचि हुन्छ । तर हाम्रा विद्यालय र विश्वविद्यालय अनि जागिरले उनीहरुलाई एउटा क्षेत्रको विशिष्ट बन्न बाध्य पारिदिन्छ ।

धेरै मानिसहरुसँग पोलिम्याथ बन्ने क्षमता हुन्छ । तर उनीहरुले सही दिशामा हिँड्ने प्रोत्साहन पाउँदैनन् ।

जर्ज वासिङ्टन विश्वविद्यालयबाट विद्यावारिधी गरेकी एन्जेला कटेलेस्साले वर्तमान पोलिम्याथहरुसँग अनुसन्धानका दौरान अन्तर्वार्ता गरेकी थिइन् । पोलिम्याथ छुट्टयाउने उनको आधार भने कम थिए । उनले कला र विज्ञान गरी दुई फरक क्षेत्रमा सफलता पाएका व्यक्तिलाई पोलिम्याथ ठानेकी छन् ।

कटेलेस्साका अनुसार पनि पोलिम्याथ हुन जिज्ञासा अनिवार्य हुन्छ । तर, त्यतिले मात्र पुग्दैन । उनका अनुसार आफ्नो रुचि पूरा गर्ने दृढता पनि उत्तिकै चाहिन्छ । “किनभने हामी यस्तो समाजमा बाँचिरहेका छौं जहाँ निश्चित विषयमा विज्ञतालाई जोड दिइन्छ र यो बाटो नहिँड्नेलाई दुत्कारिन्छ”, उनी भन्छिन् ।

धेरै व्यक्तिमा यी पूर्वस्थापित धारणासँग जुध्ने दृढता नै कम हुन्छ ।

विधा मिश्रणको शक्ति

विविध रुचि पूरा गर्न हामी किन हिचकिचाउँछौं भन्नेबारे पक्कै पनि धेरै कारणहरु छन् । एउटा त धेरै विषयमा लाग्दा सबैतिर कमजोर भइएला भन्ने डर हो ।

यथार्थ भने फरक छ । केही तथ्यहरुले देखाउँछन्, फरक विधामा क्षमता विस्तार गर्दा सिर्जनशीलता र उत्पादनशीलता नै बढ्छ । त्यसैले दोस्रो वा तेस्रो विधामा लाग्दा ध्यान भाँडिएजस्तो लागे पनि त्यसले पहिलो विधामा क्षमता बढाइरहेको हुन्छ ।

डेभिड एप्स्टिनले आफ्नो पछिल्लो पुस्तक ‘रेन्ज’मा व्याख्या गरे अनुसार प्रभावशाली वैज्ञानिकहरु औसत वैज्ञानिकको साटो फरक फरक विधामा रुचि राख्छन् । विभिन्न अध्ययनका अनुसार, नोबल पुरस्कार विजेता वैज्ञानिकहरु औसत वैज्ञानिकभन्दा २५ गुणा बढी नाच, गान र अभिनयमा रुचि राख्छन् । उनीहरु १७ गुणा बढी भिजुअल आर्टमा, १२ गुणा बढी कविता लेखनमा र चार गुणा बढी संगीतमा रुचि राख्छन् ।

अहमदले पनि इतिहासका चर्चित पोलिम्यानको जीवनीमा यस्तै तथ्य फेला पारेका थिए ।

“बहुप्रतिभाशाली हुनु भनेको अन्ततः सिर्जनशील हुनु नै हो किनभने यसको प्रकृति अनुसार नै तपाईं विविध विधाको अनुभवी हुनैपर्छ”, अहमद भन्छन् । उनका अनुसार यसको सबैभन्दा राम्रो उदाहरण लियोनार्दो दा भिन्ची हुन् । शरीररचना, गणित र ज्यामितिको उनको ज्ञानले उनको चित्रकलालाई उत्कृष्ट बनायो । उनको कल्पनाशक्तिले मेकानिकल इन्जिनयरिङलाई बलियो बनायो ।

विषय परिवर्तन

यदि तपाईं बहुप्रतिभाशाली जीवन जिउन चाहनुहुन्छ भने तपाईंलाई अहमदको सुझाव छ– विविध रुचिका लागि समय जुटाउनुहोस् ।

हालै भएका अनुसन्धानहरुले एउटा मान्यता निर्माण गरेका छन् । तपाईं कुनै जटिल कार्यमा केन्द्रित हुनुहुन्छ भने तपाईंको मस्तिष्क एउटा सन्तुष्टि विन्दुमा पुग्छ । त्यसपछि तपाईंको एकाग्रता भंग हुन्छ र तपाईं थप ध्यान बढाउन सक्नुहुन्न । तर तपाईंले त्यो विषयसँग सम्बन्ध नभएको अर्को कुनै काममा ध्यान दिनुहुन्छ भने सहज बोध गर्नुहुन्छ । यसरी काम फेरिरहँदा तपाईंको उत्पादनशीलता बढ्छ ।

यो तथ्यका केही प्रमाण शिक्षा क्षेत्रमा गरिएका अनुसन्धानबाट प्राप्त भएका हुन् । प्राज्ञिक क्षेत्रदेखि खेल र संगीतसम्मका विभिन्न विधाका विद्यार्थीमा गरिएका अनुसन्धानबाट थाहा भएको छ, केही अभ्यास र अध्ययनपछि सिकाईको दर घट्न पुग्छ । त्यसैले हामीले काम परिवर्तन गरेर समयको सदुपयोग गर्नसक्छौं ।

यसको उत्कृष्ट उदाहरण अल्बर्ट आइन्स्टाइन हुन् । उनी भौतिकशास्त्री हुनाका साथै अब्बल दर्जाका भायोलिनवादक र पियानोवादक पनि थिए । उनका छोरा र छोरीका अनुसार भौतिकशास्त्रका जटिल समस्या समाधान गर्नुअघि उनले कुनै न कुनै बाजा बजाउन थाल्थे । अनि सकिने बेलामा भन्थे, “ल मैले समाधान फेला पारेँ ।”

उनले अथक रुपमा गणित वा भौतिकशास्त्रमा मात्र लागिपरेको भए सम्भवतः उनी त्यसरी सफल हुने थिएनन् ।

आफूभित्रको बहुप्रतिभालाई हुर्काउँ

हामीमध्ये धेरैलाई लाग्छ, बहुप्रतिभाशाली हुनु हाम्रो क्षमताबाहिर छ । तर हामी सबै लियोनार्दो दा भिन्ची जत्तिकै उचाइमा पुग्न नसके पनि हाम्रो रुचिको दायरालाई बढाएर केही न केही उपलब्धी हासिल गर्नसक्छौं । एउटै क्षेत्रमा साँघुरिएर लागिरहनुभन्दा त पक्कै पनि धेरै हासिल हुन्छ ।

विगतका पोलिम्याथहरुभन्दा हामीसँग त प्रशस्त सुविधाहरु छन् । इन्टरनेटले विभिन्न विधाका अनलाइन कोर्सहरु उपलब्ध गराइदिएको छ । हामी स्काइपमार्फत हजारौ किलोमिटर टाढाका विषयविज्ञहरुसँग संवाद गर्नसक्छौं ।

अहमद भन्छन्, “यो हामीभित्रका असंख्य सम्भावना हुर्काउने समय हो ।” उनी थप्छन्, “जलवायु परिवर्तनजस्ता नयाँ नयाँ चुनौतीले हामीलाई विभिन्न क्षेत्रमा सिर्जनशील हुन दबाव दिइरहेछन् ।”

धेरै मानिसहरु भन्छन्– बहुप्रतिभा पुनर्जागरणकालको विशेषता हो । तर पोलिम्याथ हुने सम्भावना सबैभन्दा बढी अहिले छ ।

- बीबीसीबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्