‘उपनिर्वाचनको नतिजा स्वभाविक हो, २० वर्ष कुनै वैकल्पिक पार्टी आउँदैनन्’
काठमाडौं। १४ मंसीरमा सम्पन्न प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ। धेरैजसो ठाउँको नतिजा आइसके पनि केही ठाउँमा मतगणना सकिने क्रममा छ।

प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र स्थानीय तहका ४९ स्थानमा भएको उपनिर्वाचनको नतिजालाई विश्लेषण गर्ने क्रम शुरू भएको छ। कतिपयले सत्तारुढ नेकपामाथि चुनौती बढेको रूपमा यसलाई अर्थ्याएका छन् भने कतिपयले कांग्रेसले ‘कमब्याक’ गरेको चर्चा पनि गरिरहेका छन्।

उपनिर्वाचनको यो नतिजाको खास अर्थ चाहिँ के हो त ?

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले उपनिर्वाचनको नतिजा स्वाभाविक भएको र यसमा आश्चर्य मान्नुपर्ने कुनै कारण नरहेको बताएका छन्। उनले १४ उप–निर्वाचनको परिणामलाई जनताले नेकपा र नेपाली कांग्रेसको विकल्प नदेखेको रूपमा लिनुपर्ने बताए।

“सरकारले भन्ने गरेको समृद्धिको अभियान शुरू नै भएको छैन, प्रमुख प्रतिपक्ष कमजोर छ, समाजवादी पार्टी र राजपा क्षेत्रीय पार्टी हुन्, साझा र विवेकशील ‘फेस’मा मात्रै लोकप्रिय हुन्, जनताले कसलाई मत दिनु ?”, आचार्यले देखापढीसँग भने, “उपनिर्वाचनमा अधिकांश स्थानमा नेकपा हार्छ र हामीले जित्छौं भन्ने कांग्रेसका नेताको विश्वास थियो। तर, जनताले त्यसको मात्र मूल्याङ्कन गर्दैनन्। कांग्रेसका नेता राष्ट्रिय अजेण्डा र विचारमा स्पष्ट छैनन्। किन जनताले मत दिने?”

विश्लेषक आचार्यले मधेशकेन्द्रित दलले पार्टीको नाम राष्ट्रिय बनाए पनि उनीहरू क्षेत्रीयतामै सीमित रहेको उपनिर्वाचनले देखाएको बताए। पहिले पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत नेतृत्वको जनमत पार्टीले ल्याएको मत पनि सामान्य र स्वभाविक भएको उनको विश्लेषण छ।

“यसको अर्थ अझै १५–२० वर्ष मुलुकको राष्ट्रिय राजनीतिमा नेकपा र कांग्रेस नै हाबि हुनेछन्,” उनले भने।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको चितवनका विभिन्न वडामा अहिले नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन्। यसलाई आचार्यले हिजो कांग्रेसले तत्कालीन माओवादीलाई सुम्पेको आफ्नो पकड क्षेत्र अहिले पुनः प्राप्त गरेको बताए।

जनताले अझै पनि राष्ट्रिय अजेण्डा, जनतासँगका सरोकार तथा विकासका मुद्दा हेरेर मत दिन नसकेको उनको ठम्याइ छ। विश्लेषक आचार्यले कांग्रेस यस्तै कमजोर प्रतिपक्षी रहे आगामी निर्वाचनमा पनि नेकपाकै जित हुने समेत दाबी गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्