‘वर्तमान उपसभामुख नै सभामुख बन्न योग्य हुनुहुन्छ’

एक वर्षपछि नेकपाको स्थायी समिति बैठक बसेको छ। बैठक बस्न पनि यति लामो समय किन?

हामीले यही कुरा बैठकमा अध्यक्षलाई सोध्यौं। किनभने पार्टीको विधानअनुसार तीन तीन महिनामा स्थायी समिति बैठक बस्नुपर्छ। ढिलो भए पनि बैठक बसेको छ, अब यसो नहोस् भनेर हामीले अध्यक्षलाई सचेत गराएका छौं।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भारतसँगको सीमा विवादको विषयसमेत समेटिएको छ। त्यसको खास कारण के हो?

अंग्रेजहरुले भारत छाडेर गएपछि यो विषय बल्झिँदै आएको छ। र, अहिले भारतले नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेकाले यो विषय फेरि बहसमा आएको हो। यसमा दुइटा पक्ष छन्। एउटा, उत्तेजक अभिव्यक्ति र विरोध प्रदर्शन गर्ने, जुन हिंजो हाम्रो पार्टीले पनि गथ्र्यो। अर्को चाहिँ कुटनीतिक माध्यमवाट समस्या समाधानको पहल।

आज नेकपा सरकारमा छ। सरकारको नेतृत्व गरिरहेको पार्टीले हिजोकै जस्तो विद्रोही शैलीमा छिमेकीलाई प्रयोग गर्ने गतिविधि गर्न हुन्न। तर, जनतामा देशभक्तिको भावना जागृत गर्ने विषय, कुटनीतिक रुपमा पत्राचार गर्ने कुरा, भारतीय पक्षलाई यो भूमि हाम्रो हो है भन्ने कुरालाई सशक्त रुपमा प्रस्तुत गर्न प्रतिवेदनमै यो विषय समेटिएको हो।

सरकारले कुटनीतिक माध्यमबाट समस्या समाधानको पहल गरेको छ त ?

छ नि। परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पत्र पठाइएको छ।

पत्रको जवाफ प्राप्त भयो त ?

पत्र पठाएको एक महीनाजति भयो। भारतले समीक्षा गरेर पत्र पठाउला। हामीले पनि यो विषय कुटनीतिक माध्यमबाटै समाधान होस भन्ने चाहेका छौं।

जवाफ नआएमा सरकारले अर्को पत्र पठाउँछ। त्यसपछि नभए प्रतिनिधिमण्डल पठाउँछ।

केहि समयअघि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीले विशेष दूतका रुपमा भारत पठाउन खोजेको चर्चा थियो नि ?

यो सत्य होइन।

तर, माधवकुमार नेपाल र नेपालस्थित भारतीय राजदुतका बीचमा भेट भएको त हो नि ?

भेट भएको कुरा सत्य हो। तर, सरकारले विशेष दूतका रुपमा पठाउन लागेको भन्ने कुरा सत्य होइन।

प्रसंग बदलौं। पार्टी एकीकरणपछि अध्यक्षद्वयको कार्यविभाजनबारे व्याप्त अन्योल अब अन्त्य भएकै हो ?

हामीले दुवै अध्यक्षलाई कार्यकारी भनेका थियौं, तर त्यसअनुसार प्रष्टता थिएन। केही समयअघि सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन टुंग्याएको छ। प्रधानमन्त्रीज्यूले सरकारको कामकारवाही प्रभावकारी बनाउने र अध्यक्ष प्रचण्डले पार्टीलाई सक्रिय बनाउन भूमिका खेल्नेगरी कार्यविभाजन भएको छ।

प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा समस्या आएकाले कतिपय कुरा अपेक्षित रुपमा अघि बढ्न नसकेका होलान्। तर, प्रचण्डको अध्यक्षतामा पार्टी गतिविधि अघि बढिसकेका छन्।

प्रतिनिधिसभा लामो समयदेखि सभामुखविहीन अबस्थामा छ। सभामुखको चयन कहिले हुन्छ ?

सभामुख र उपसभामुखमध्ये एकजना आफूलाई दिनुपर्छ भनेर नेपाली कांग्रेसले अनौपचारिक रुपमा भनेको छ। तर यसबारे औपचारिक रुपमा टेबल टक भएको छैन। आउँदो ४ पुसभित्र हाम्रो पार्टीका तर्फबाट सभामुखका उम्मेदवारको नाम तय भइसक्छ।

बाहिर त तपाईंको नाम पनि सभामुखको सम्भावित उम्मेदवारका रुपमा चर्चामा छ नि ?

व्यक्ति विशेषबारे पार्टीमा कुनै छलफल भएको छैन। कसैले दौडधुप पनि गरेको छैन। औपचारिक रुपमा कुनै पनि पात्रसंग तपाई बन्नुप¥यो भनेर छलफल भएको छैन। तर, यो दुई जना अध्यक्षले पाँच मिनेटभित्र टुंगो लगाउन सक्ने विषय हो।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले त आफूलाई अनाहकमा सजाय दिईंदैछ भन्ने गुनासो गरिरहनुभएको छ नि ?

हामीले अबलम्बन गरेको प्रणाली र बनाएको संसद नियमावलीअनुसार उपसभामुखले स्वतः सभामुखको रुपमा कार्यवाहक सम्हाल्न पाउने व्यवस्था छैन। सभामुखको अनुपस्थितिमा सभामुखकै निर्देशनमा अस्थायी रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था मात्र संविधानमा छ। पार्टीले उँहालाई नै सभामुख बनाउने निर्णय ग¥यो भने पनि उपसभामुखले राजीनामा दिनुपर्छ। उपसभामुखको पनि पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था छ। यद्यपि, उहाँ सभामुख बन्न योग्य व्यक्ति हुनुहुन्छ।

प्रस्तुती: मञ्जु कार्की

प्रतिक्रिया दिनुहोस्