चितुवाले मान्छे किन खान्छ ?

मानिसको आक्रमणबाट १९ चितुवाको मृत्यु।

चितुवाको आक्रमणबाट १२ मानिसको मृत्यु।

पछिल्लो ६ वर्षको तथ्यांक हो यो। त्यो पनि निकै सानो क्षेत्रफलभित्रको। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा पर्ने ८ वर्गकिलोमिटर क्षेत्रफलभित्रको घटना। यी अंकले बताउँछन्, मानिस र चितुवाबीच द्वन्द्व बढेको छ।

चितुवा र मान्छेबीच द्वन्द्व बढेको यो एक्लो घटना भने होइन। देशका विभिन्न ठाउँमा यस्तो घटना हुने गरेका छन्। तर, सानो क्षेत्रफलमा यति सघन द्वन्द्व देखिएको मध्ये अर्घाखाँची प्रमुख हो। यस्तै सघनता बैतडी र बर्दियामा पनि देखिएको छ।

बैतडीमा मात्र पछिल्लो सात वर्षमा चितुवाको आक्रमणबाट २४ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयका अधिकृत केशव पराजुलीले बताए। आर्थिक वर्ष ०७५/७६ मा मात्र मानिसका कारणले ६ वटा चितुवाको मृत्यु भएको छ।

त्यस्तै तनहुँ, कास्की जस्ता मध्य पहाडी जिल्लामा पनि मानव–चितुवा द्वन्द्व बढिरहेको देखिन्छ। द्वन्द्वकै रुपमा देखा नपरे पनि काठमाडौं जस्ता घनाबस्तीमा समेत चितुवा बारम्बार आउने गरेको पाइन्छ। २०७३ जेठमा काठमाडौंको कुलेश्वरमै चितुवा आइपुगेको थियो। २०७४ माघमा भक्तपुर चाँगुनारायणमा सुत्केरी चितुवा आफ्ना बच्चा स्याहार्न आइपुगेको थियो। उसले भुकम्पका कारण चर्किएपछि परित्यक्त घर रोजेको थियो।

आक्कलझुक्कल देखिने, मानिसले पालेका गाईवस्तु खाइदिने बानी चितुवाको पुरानै हो। जंगलको परिधिमा बढी बस्ने भएकाले बेलाबखत आहाराका लागि मानिसको बस्तीसम्म धाउने स्वभाव चितुवामा हुने बताउँछन् शशांक पौडेल। नेपालमा देखिएको मानव–चितुवा द्वन्द्वबारे अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी अनुसन्धानरत पौडेल पछिल्लो समय यो द्वन्द्व बढेको ठान्छन्।

आखिर किन बढिरहेछ यो द्वन्द्व ? खासगरी मध्यपहाडी जंगलमा बढी पाइने यो ठूलो बिरालो किन बारम्बार मानिसका बस्तीमा आउने गरेको छ, त्यो पनि मानिसलाई नै खानेगरी ? किन शत्रुता साँधिरहेको छ उसले मानिससँग ?

"कारण फरक–फरक हुनसक्छन्", पौडेलको जवाफ छ, "चितुवा र मान्छेबीचको द्वन्द्वको प्रकृति फरक ठाउँमा फरक किसिमको छ। तराईमा चितुवा र बाघ एउटै जंगलमा छन्। पहाडमा चितुवा नै सबैभन्दा ठूलो बिरालो प्रजातिको जन्तु हो। त्यसैले तराईमा र पहाडमा चितुवा आक्रमणको कारण फरक छ।"

यो फरक बुझ्न चितुवालाई बुझ्नुपर्छ।

बाघ होइन चितुवा

बलिया खुट्टा। सेतो टुप्पो भएको लामो सर्लक्कको पुच्छर। फराकिलो अनुहार। छोटा कान। ससाना, पहेंला–पहेंला खैरा आँखा। हल्का पहेंलो वा सुनौंलो काला थोप्ला भएको छाला। ४ फिट २ इन्चदेखि ४ फिट ८ इन्च सम्मको भाले। २ फिट ६ इन्चदेखि २ फिट साढे १० इन्चसम्मको पोथी। साना खरायोदेखि जरायोसम्म आहारा बनाउने।

भारतीय उपमहाद्विपमा पाइने चितुवाको विशेषता हो यो। अधिकांश नेपाली यसैलाई बाघ ठानी झुक्किने गर्छन्। "जबकि मध्य पहाडी क्षेत्रमा बाघ पाइँदैन", भन्छन् पौडेल, "तर अज्ञानतावश बाघ भनिने गरेको छ। सामान्यजनदेखि आमसञ्चारसम्म यो भ्रम छ।"

नेपाली ग्रामीण बस्ती छरिएको छ। त्यसको पुनःसंरचना वा पुनर्गठन गर्ने भन्नेतर्फ कसैले चिन्तन नै गरेन। अलिकति विप्रेषणको रकम र अलिकति राजनीतिक प्रचारबाजी। कुल मिलाएर गाउँभरी बाटो बनाइन थाल्यो। अर्घाखाँची अहिले नेपालमै सबैभन्दा धेरै बाटो विस्तार भएको जिल्ला हुनपुगेको छ।

यही चितुवालाई अर्घाखाँची लगायत पश्चिम पहाडका कतिपय ठाउँमा ‘किरा’ समेत भनिन्छ।

भ्रम त अर्को पनि छ, धेरैले अफ्रिकी जंगलमा पाइने चित्तालाई चितुवा भन्ठान्छन्। त्यसैले संसारको सबैभन्दा छिटो दौडिने चार खुट्टे जनावर चित्ता भन्नुको साटो चितुवा भन्नेहरू पनि छन्। जबकि चित्ता प्रतिघण्टा ११३ किलोमिटरको वेगले कुद्छ भने चितुवा बढीमा ६०।

जेहोस् नेपाली पर्यावरणमा पाइने ठूलो बिरालोमध्येको एउटा चितुवा हो।

"नेपालका तीनवटा पर्यावरण हिमाल, पहाड र तराईमा एक–एकवटा ठूलो बिरालो छन्", पौडेल भन्छन्, "हिमालमा हिउँ चितुवा, पहाडमा चितुवा र तराईमा बाघ।"

रोचक त के भने, मध्य–पहाडमा बढी बस्ने चितुवा तराईका जंगलदेखि हिमालसम्मै पाइन्छ। हिउँचितुवाको अध्ययनका लागि राखिएको क्यामेरामा चितुवा समेत पाइएपछि केही वर्षअघि विज्ञहरू नै छक्क परेका थिए।

पर्यावरणका आधारमा चितुवाले मानवबस्तीसँग राख्ने सम्बन्धको प्रकृति पनि फरक हुने गरेको पौडेल बताउँछन्।

तराईको जंगलमा हुने बाघ चितुवाभन्दा बलियो हुन्छ। मध्य जंगलमा चितुवा अटाउन सक्दैन। ऊ किनारामा धकेलिन्छ। जंगल किनारमा आहारा प्रजातिका जंगली जनावर कम हुन्छन्। त्यसैले बेलाबखत आहारा खोज्न मानव बस्तीतिर आउँछ ऊ।

"पहाडमा मानव बस्तीसँग बढ्दो उसको सम्पर्कको कारण भने फरक छ", भन्छन् उप–प्राध्यापक नारायण कोजु।

उनी पोखरा विश्व विद्यालय अन्तर्गत नेपाल इन्जिनियरिङ कलेजको ‘सेन्टर फर पोस्ट्–ग्य्राजुएट स्टडीज’ अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन संकायका प्रमुख हुन्।

वैदेशिक रोजगारीले निम्त्याएको द्वन्द्व

सानो क्षेत्रफलमा मानव–चितुवा द्वन्द्व बढेपछि नारायण कोजु एवं उनका विद्याथीहरू आश्रा कुँवर र शिला पोखरेल सम्मिलित समूहले अर्घाखाँचीको त्यो क्षेत्रफलमा अनुसन्धान गर्यो।

घटना बढी भएको ८ वर्गकिलोमिटरलाई केन्द्रमा राखेर ४५ वर्गकिलोमिटर क्षेत्रफलका विभिन्न ९ ठाउँमा क्यामेरा जोडेर अनुसन्धान गरियो। गत वर्ष ६ महिनासम्म क्यामेराबाट चितुवाका गतिविधी अध्ययन गरिएको थियो।

"चितुवा र मानव द्वन्द्व बढ्नुको प्रमुख कारणहरू र, चितुवाप्रति स्थानीयको दृष्टिकोण के छ भन्ने पत्ता लगाउने हाम्रो मुख्य उद्धेश्य थियो", कोजु भन्छन्।

यो अनुसन्धानबाट कोजुको टोलीले चितुवा–मानव द्वन्द्व बढ्नुका केही कारण पत्ता लगाएको छ।

"सुन्दा अनौठो लाग्नसक्छ, मानव–चितुवा द्वन्द्व बढ्नुमा वैदेशिक रोजगारी एउटा मुख्य कारक हो", कोजुको निष्कर्ष छ।

वैदेशिक रोजगारीले रेमिट्यान्स उपलब्ध गरायो। तर, त्यो पूँजीको व्यवस्थित प्रयोग गर्ने नीति भएन। बरु विकास भनेको बाटो हो भन्ने बुझाई बन्यो। त्यसैले जसले जहाँसक्यो बाटो बनाउन थाल्यो।

नेपाली ग्रामीण बस्ती छरिएको छ। त्यसको पुनःसंरचना वा पुनर्गठन गर्ने भन्नेतर्फ कसैले चिन्तन नै गरेन। अलिकति विप्रेषणको रकम र अलिकति राजनीतिक प्रचारबाजी। कुल मिलाएर गाउँभरी बाटो बनाइन थाल्यो। अर्घाखाँची अहिले नेपालमै सबैभन्दा धेरै बाटो विस्तार भएको जिल्ला हुनपुगेको छ। यहाँका सबै नगरपालिका र गाउँपालिकाका वार्डहरूसम्म बाटो पुगेको छ।

"यसरी छरिएका सडकले जंगल खण्डीकरण हुनपुग्यो", कोजु भन्छन्, "जंगल खण्डिकरण हुँदा चितुवाका आहारा प्रजातिका जन्तुहरूको संख्या घट्दै गयो।"

चितुवाका आहारा प्रजाति हुने जनावरका लागि ठूलो जंगल चाहिन्छ। सडक खण्डीकरण हुँदा उनीहरूले बच्चा जन्माउने, हुर्काउने र चर्ने ठाउँ कम भयो। त्यसैले उनीहरूको संख्या घट्दै गयो।

कोजुकै समुहले काठमाडौंको नागार्जुन जंगलमा उसैगरी क्यामेरा राखेर अनुसन्धान गरेको थियो। नागार्जुन जंगलमा राखिएको क्यामेराले तीन वटा चितुवाको फोटो खिच्दा ६० वटा आहारा प्रजातिका जन्तुको ट्रयाप भएका थिए।

"अर्घाखाँचीमा ६ महिना सम्म क्यामेरा राखेर हेर्दा मुस्किलले केही रतुवा, केही दुम्सी र केही खरायोमात्र पाइए’, कोजुको ठम्याई छ, "ससाना जन्तुका लागि जस्तो जंगल हुनुपथ्र्थ्यो त्यस्तो हुन सकेको छैन।"

जंगलमा आहारा नपाएपछि चितुवा मानिसको बस्तीसम्म आउनु त स्वाभाविक नै भइहाल्यो।

मानिसलाई नै आहारा बनाउनुपछि वैदेशिक रोजगारीकै असर देख्छन् कोजु।

"काम गर्ने मानिस विदेश गएपछि गाउँघरमा खेतीपाती भएको छैन, गाईवस्तु पाल्न पनि छोडिएको छ", उनी भन्छन्।

बस्ति नजिकै बालीनाली नलगाउँदा अव्यवस्थित बुट्यान बनेका छन् जुन चितुवालाई लुक्ने ठाउँ बनेको छ। गाईवस्तु नपाल्दा मानिस शिकार बनेका छन्।

"सायद आज भन्दा पाँच, सात वर्ष पहिला पनि सायद चितुवालाई आहारा पुगेको थिएन। तर गाउँलेहरूले पालेका गाईवस्तुलाई आहारा बनाइरहेका थिए। अहिले मानिस आहारा बनेका छन्", कोजु भन्छन्, "चितुवाको आहाराको मान्छे सजिलो हुन्छ। जरायो, खरायो जस्ता जीव सजिलोसँग भाग्न सक्छन्। मान्छे सक्दैनन्।"

कमजोर हुने भएकैले चितुवाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई निसाना बनाउने गरेको छ।

कोजुको समूहले चितुवाले बढी आक्रमण गरेका मानव बस्तीको प्रकृति समेत विश्लेषण गरेको थियो।

"घरबाट शौचालयको दूरी धेरै भएका, जंगल र पानीको स्रोत बीचको दूरी नजिक भएका, पिउने पानीको स्रोत पर भएको, बार नबाँधेको, भेडाबाख्रा अव्यवस्थित तरिकाले पालेको र केटाकेटी भएको घरमा चितुवा बढी आएका छन्", कोजु भन्छन्।

चितुवाले मान्छे मार्न थालेपछि मानिसहरूले पनि पासो थापेर चितुवा मार्न थाले। त्यसरी मारिनेमा डमरु पनि छन्।

अनुसन्धानकर्मीलाई सबैभन्दा छक्क पारेको चाहिँ सानो क्षेत्रफलमा पाइएको चितुवाको सघन उपस्थितिले हो।

बिरालो प्रजातिका जन्तुहरूमा सिंह बाहेक अन्य सबै एक्लाएक्लै बस्छन्। प्रजननको समयमा मात्र ती भेटिन्छन्। जन्माएपछि केही समयसम्म हुर्काएर पोथीले बच्चा छोडिदिन्छ। त्यसरी छोडिएको चितुवाले आफ्नो नयाँ क्षेत्र खोज्दै जान्छ। चितुवाले आफ्नो लागि छुट्याएको क्षेत्रलाई अनुसन्धानकर्मीहरू होमरेन्ज भन्छन्।

"आहारा र पानीको उपलब्धताको आधारमा होमरेन्ज थोरै र धेरै हुनसक्छ", शशांक पौडेल भन्छन्, "औसतमा एउटा चितुवाले १० देखि १२ वर्ग किलोमिटर क्षेत्रफललाई होमरेन्ज बनाउँछ।"

दोबाटोहरूमा दिसा गरेर, रुख कोपरेर, पिसाब फेरेर चितुवाले आफ्नो होमरेन्ज छुट्याउँछ।

अर्घाखाँचीमा निकै कम क्षेत्रफलमा त्यतिधेरै चितुवा पाइएको घटनाले अनुसन्धानकर्मीलाई पनि आश्चर्यमा पारिरहेछ।

काठमाडौंमा किन ?

मानिसको सबैभन्दा घनाबस्ती रहेको काठमाडौंमा चितुवा आइपुग्नु अनुसन्धानकर्मीका लागि अध्ययनको अर्को विषय हो। काठमाडौं आइपुग्ने चितुवाबारे सेन्टर फर मोलिक्युलर डाइनेमिक्समा कार्यरत अनुसन्धानकर्मी प्रज्ववल मानन्धरले अनुसन्धान गरे। डिएन प्रविधिमा आधारित अनुसन्धान गर्ने काम गर्छ सेन्टर फर मोलिक्युलर डाइनेमिक्स नामक संस्था।

उनले काठमाडौं वरिपरिका सबै डाँडाहरू (चन्द्रागिरी, फुल्चोकी, नगरकोट, नागार्जुन, इन्द्रदह, शिवपुरी) मा रहेको चितुवाबारे अनुसन्धान गरे। यो अनुसन्धान भने डिएनए विधिबाट गरिएको थियो। जंगलमा पाइएका चितुवाका दिसा संकलन गरेर त्यसबाट चितुवाको डिएनए परिक्षण गरिएको थियो। चितुवाको संख्या, उसको लागि चाहिने क्षेत्रफल, उपलब्धता र आहारा अनुसन्धानको चासोको विषय थियो।

यो अनुसन्धानको पूर्ण नतिजा अझै आइसकेको छैन। शोधपत्र तयार पार्दासम्म एक वर्ष लाग्ने बताउँछन् मानन्धर। तर उनले प्रारम्भिक निचोड भने निकालिसकेका छन्।

उनले अहिलेसम्म गरेको डिएनए परिक्षणले देखाउँछ चितुवाको आहारामध्ये ९० प्रतिशत घरमै पालिने गाईवस्तु हुने गरेका छन्। यसको अर्थ हो, जंगलमा उसले खाने आहारा घटिरहेका छन्।

"शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पनि मानव गतिविधी बढिरहेछ जसले गर्दा आहारा प्रजाति घटिरहेछन्", भन्छन् मानन्धर।

शहरसम्मै चितुवा आइपुग्नुका भने अन्य कारण छन् भन्छन् शशांक पौडेल। उनका अनुसार नयाँ हुर्किएका चितुवाहरू होमरेन्ज खोज्दै एक जंगलबाट अर्को जंगलमा जान्छन्। नदीको किनारैकिनार उनीहरू नयाँ वासस्थान खोज्दै जान्छन्। विडम्बना पहिले जंगल हुने ठाउँमा अहिले मानिस आएर बसिदिएका छन्। राती हिंडेका चितुवा नयाँ जंगलमा नपुग्दै उज्यालो भएपछि मानिसकै घरछेउ लुक्न बाध्य हुन्छन्।

काठमाडौं बानेश्वरमा दुई वर्ष अघि देखा परेको चितुवा त्यसैगरी बास खोज्दै हिँडेको थियो।

तराईमा बग्ने नदीनाला जोगाउने हो भने चितुवा जोगाउन पर्छ।

चाहिन्छ र चितुवा ?

मानिसको घरसम्मै आएर गाईवस्तु मात्र होइन मान्छे नै खाइदिने चितुवा चाहिन्छ र ? चितुवाको आक्रमण बारम्बार बनिरहेका मानिसहरू सरकारले चितुवा नै हटाइदिनुपर्ने माग पनि राख्छन्। तर, सरकारले चितुवालाई संरक्षण गर्ने नीति लिएको छ। किन चाहिन्छ र चितुवा ?

"नदी जोगाउन", अनुसन्धानकर्मी पौडेल भन्छन्, "तराईमा बग्ने नदीनाला जोगाउने हो भने चितुवा जोगाउन पर्छ।"

ठूला नदीबाहेक असंख्य ससाना नदी र खोलाहरू महाभारत र चुरे शृंखलामै उम्रिएर तराईसम्म बहन्छन्। ती खोलानाला जोगाउने हो भने महाभारत र चुरेका जंगल जोगाउनुपर्छ। जंगल जोगाउनुको अर्थ शाकाहारी प्रजातिका जन्तु बढ्नु हो। तिनले त्यहाँको पारिस्थितिक प्रणाली सन्तुलित राख्न भूमिका खेल्छन्। तर तिनको संख्या बढ्यो भने जंगल मासिँदै जान्छ। चितुवा जस्ता मांसाहारी जीवले तिनको संख्या सन्तुलनमा राख्छन्।

"त्यसैले खोलानाला जोगाउने हो भने चितुवा जोगाउनुपर्छ", पौडेल भन्छन्, "मानिसकै हितको लागि पनि चितुवा चाहिन्छ।"

गर्ने के ?

चितुवा जोगाउने र मानिससँगको द्वन्द्व घटाउने हो भने उपयुक्त नीति नै छैन।

"सही नीति निर्माण गर्ने हो भने समाधानको उपाय खोज्न सकिन्छ", पौडेल भन्छन्, "नेपालमा चितुवा र मानवबिच द्वन्द्व बढ्नुको कारणबारे गतिलो अनुसन्धान नै भएको छैन। तराई, पश्चिम पहाड, काठमाडौं उपत्यकाका समस्या फरक छन्। द्वन्द्वको प्रकृति नै फरक छन्। त्यसैले पहिला अध्ययन गरेर नीति बनाउनु उपयुक्त हुन्छ।"

चितुवा–मानवबीचको द्वन्द्व हटाउन राज्यले अल्पकालीन बन्दोबस्त पनि गर्नसक्छ। कोजु भन्छन्, "एकीकृत बस्ती हुनु आवश्यक छ। बाँझो जमिनमा खेती गर्ने वा व्यवस्थित जंगलको रुपमा विकास गर्नु उपयुक्त हुन्छ।"

प्रतिक्रिया दिनुहोस्