विश्वविद्यालयसँग को डराउँछ, किन डराउँछ ?

आधुनिक राष्ट्र–राज्यहरूको हृदयमा अहिले पनि साम्राज्य धड्किरहेछ। त्यसैले यी राष्ट्र–राज्यहरूले असहमतिका आवाजहरू दबाउन साम्राज्यकै दमनकारी पद्दति प्रयोग गर्छन्।

उनीहरूले असन्तुष्टिका आवाज दबाउने क्रियाकलाप सबैले देख्नेगरी प्रदर्शन गर्छन्। खासगरी हिंसाको प्रदर्शन बढी गरिन्छ ताकि असन्तोषका अरु आवाजलाई ‘यसरी दमन गरिन्छ’ भनेर उदाहरणको रुपमा प्रस्तुत गर्न सकियोस्। यो राज्य दमन र हिंसात्मक गतिविधीको संयोजनबाट हुने अभ्यास हो।

राजनीतिक रुपले सचेत मानिसहरू जब लोकतान्त्रिक पद्दतिले प्रदान गरेको मौलिक अधिकार र कर्तव्यको उपयोग गर्दै प्रदर्शन गर्छन्, तब उनीहरूलाई ‘अनियन्त्रित र विध्वंसकारी’ भीड करार गरिन्छ। आफ्ना नागरिकविरुद्ध गर्ने हिंसा प्रयोगलाई पुष्टि गर्न सरकारले यस्तो आरोपको सहारा लिन्छ।

विद्यार्थीहरूकोआन्दोलन ठूलो बहसको एउटा हिस्सा हो। सरकारले सबै विवादले विभाजन तर्फ लैजाँदैन भन्ने बुझ्न जरुरी छ।

यस्ता घटनाहरूमा एकपछि अर्कोलाई हिंसात्मक आक्रमण गरेर राज्यले आफै भीडको भूमिका खेल्न थाल्छ। वैधानिक रुपमा निर्वाचित र लोकतन्त्रको सपथ खाएको सरकारले पनि अलोकतान्त्रिक रवैया अपनाउन थाल्छ। खासमा उसको ध्येय यथास्थिति कायम राखिरहने हुन्छ।

हो, यस्तै घटनाहरूमा आधुनिक काल मध्यकाल प्रतीत हुन थाल्छ। वास्तवमा आधुनिक लोकतन्त्रको हृदयमा मध्ययुग अहिले पनि धड्किरहेकै छ।

आफ्नै भूराजनीतिक सीमाभित्र रहेका ‘अन्य वृत्त’ (अदर स्पेसेज)सँग आधुनिक राष्ट्र–राज्यले कसरी व्यवहार गर्छन् त ? सम्बन्धित राज्यले कश्मिर, बलुचिस्तान, हङकङ, चेचन्या वा क्याटलोनियासँग कसरी व्यवहार गर्छन् ?

यी भू–भागहरू एकैसाथ व्यवस्थाभित्र र बाहिर छन्। यी भू–भागहरूमा शासक राष्ट्र–राज्यबाट स्वतन्त्रता (आजादी) पाउन लामो समयदेखि संघर्ष भइरहेको छ। ती भूभागहरू आफै स्वतन्त्र राष्ट्र–राज्य हुन चाहन्छन्। तर, यी राज्यहरूले मागेको आजादी र भारतका विश्वविद्यालयहरूमा नारा लगाइने गरेको आजादीबीच एकदमै भिन्नता छ। विश्वविद्यालयका विद्यार्थीहरूले राज्य–संरचनाबाट स्वतन्त्रता मागेका होइनन्। उनीहरूले त लामो समयदेखि बहुसंख्यकहरूबाट दमनमा परेका समाजका अल्पसंख्यकहरूको निम्ति स्वतन्त्रता मागिरहेका हुन्। त्यो दमन र विभेददेखि आजादी मागिरहेका हुन्।

त्यसैले अहिले भारतमा भइरहेको विद्यार्थी प्रदर्शनहरूको मूल भाव बहुसंख्यक विरोधी हो। यो टुक्रिनका लागि भइरहेको आन्दोलन होइन बरु एकताका लागि हो। यो आन्दोलन ठूलो बहसको एउटा हिस्सा हो। सरकारले सबै विवादले विभाजन (लेखकले हिन्दीमा विभेद र अंग्रेजीमा डिसयुनिटि लेखेका छन्) तर्फ लैजाँदैन भन्ने बुझ्न जरुरी छ।

अहिलेसम्म मूलधारले किनारीकृत गरेर बहिस्कार गरेको वृत्तले अहिले आफ्नो उपस्थितिका लागि दावा गरिरहेछन्। यो आधारभुत अधिकारहरूका निम्ति भइरहेको लडाइँ हो।

सत्यको विमर्श

विश्वका अन्य देशमा जस्तै भारतमा पनि विश्वविद्यालयहरू ‘सम्पर्क क्षेत्रहरू’ हुन् जहाँ मूलधार र किनारीकृत, विशेषाधिकारप्राप्त र दमित, भित्री र बाहिरीहरूको मिलन हुन्छ।

यो त्यो स्थान पनि हो जहाँ खासगरी विशेषाधिकारप्राप्तहरूका लागि परिकल्पना गरिएको उच्च शिक्षाले समाजको तल्लो तहलाई भेट्छ। सबै बहस, तर्क–वितर्कभन्दा पनि माथि उठेर एउटा विश्वविद्यालयले सत्यसम्म पुग्न निरन्तर प्रयास गर्छ। सत्यसम्म पुग्ने उसको प्रयास घर्षणयुक्त र द्वन्द्वात्मक हुन्छ।

विश्वविद्यालयले कहिल्यै पनि सत्य यही हो भनेर दावा गर्दैन, तर सत्यसम्म पुग्ने बाटो सुझाउँछ। र, यो यात्रा निरन्तर तर सन्तुष्टिदायक हुन्छ। त्यसो त सत्य के हो भन्ने विचार पनि विधा अनुसार फरक हुन्छ। प्रकृति विज्ञान, समाज विज्ञान र मानविकीमा बुझिने सत्य फरक हुन्छन्। तर यी विविधतायुक्त इकाइहरूको संश्लेषणात्मक ‘सम्पूर्ण’ रुप जे हुन्छ त्यसैले ल्याटिन भाषाको ‘युनिभर्सिटास’को अर्थ दिन्छ। विश्वविद्यालयको ‘सम्पूर्ण’ सधैं सबै इकाईहरूको जोडभन्दा उच्च हुन्छ।

चाहे लैंगिक न्यायका लागि होस् वा जातीय न्यायका लागि वा धार्मिक न्यायका लागि देशभर भइरहेको विद्यार्थी आन्दोलनको सार विश्वविद्यालय केका लागि खडा हुन्छ अर्थात् विश्वविद्यालय ‘हुनुको अर्थ’ (रेजन देट्रा) हो। अहिलेजस्तो समयमा विचारधारात्मक रुपमा बहस हुनु विश्वविद्यालयको लागि रुचीकर मात्र होइन आवश्यक पनि हो।

विश्वविद्यालयमा कसैलाई पनि (चाहे विचार होस् वा संरचना) बिना प्रश्न स्वीकार गरिँदैन। बिल्कुलै अपरिचित हुँदा पनि वा एकदमै साधारण प्रतीत हुँदा पनि त्यसमाथि प्रश्न जारी रहन्छ। विश्वविद्यालयले आफू रहिरहेको समाजलाई पनि प्रश्न गर्छ। ऊ आफ्ना दातृ संस्थाहरूप्रति पनि अनुग्रहित होइन आलोचनात्मक हुन्छ चाहे त्यो सरकार होस् वा संस्था वा दुवै।

सन् १८१० मा बर्लिन विश्वविद्यालय स्थापनाबाट विश्वविद्यालयहरूको आरम्भ भएदेखि आधुनिक विश्वविद्यालयहरूलाई राष्ट्र–निर्माण र नागरिक उत्पादनको जिम्मा दिइएको छ। समयक्रममा यो राष्ट्र–निर्माण र नागरिक निर्माणको भाष्यले कर्पोरेट (निगम) निर्माण र कामदार एवं जागिरेको निरन्तर उत्पादनको भाष्यका लागि धेरै सघाउ पुर्‍याएको छ। साथै विश्वविद्यालयले ‘उत्कृष्टताको केन्द्र’को भाष्य पनि निर्माण गरेको छ जसले बजारको आवश्यकतालाई पूर्ति गर्दछ।

विश्वविद्यालयले कहिल्यै पनि सत्य यही हो भनेर दावा गर्दैन, तर सत्यसम्म पुग्ने बाटो सुझाउँछ। र, यो यात्रा निरन्तर तर सन्तुष्टिदायक हुन्छ।

मानवशास्त्रका प्राध्यापक डेभिड हार्वेले भनेजस्तै “विश्वविद्यालयहरू अहिले डार्विनवादी संसारमा सञ्चालित छन् जहाँ योग्य मात्र बाँच्दछ।” बील रिडिंग्सको पुस्तक ‘द युनिभर्सिटी इन रुइन्स’ (भग्नावेशषमा विश्वविद्यालय)को समीक्षा गर्ने क्रममा हार्वेले आधुनिक विश्वविद्यालयको थप चिरफार गर्दै लेखेका छन्ः

“अत्यधिक प्रशासनिक शक्तिहरू र बोझहरू, ‘कर्पोटाइजेसन’ र ‘सर्वहाराकरण’बारे जतासुकै गुनासा सुनिन्छन्। यी अप्ठ्याराहरू कर्पोरेट तर्कहरू लागू गर्दा उब्जेका हुन्। यो आजको समयले उब्जाएको समस्या हो। त्यस्तो समय जतिबेला ‘उत्पादन’ ‘एक शिक्षित विद्यार्थी’ जस्तो अपरिभाषित छ। र जतिबेला शिक्षा ग्रहण गर्नु र क्षमता ग्रहण गर्नु, सोच्नु र सूचना पर्गेल्नु, ज्ञान उत्पादन गर्नु र यसको उपभोग गर्नुबीचका फरकको महत्व न्यून छ।”

सन् १९६८ मा फ्रान्सको सोर्बोन विश्वविद्यालयमा विद्यार्थी आन्दोलन भएदेखि यी तमाम कठिनाइका बावजुद संसारभरी नै विश्वविद्यालयहरूले सामाजिक र राजनीतिक प्रक्रियाहरूमा, सार्वजनिक धारणा निर्माण गर्ने मामिलामा र केही हदसम्म आन्दोलनलाई सही दिशा दिने सम्बन्धमा भूमिका खेलिरहेका छन्।

भारत, हङकङ र कोलम्बियामा समानता र स्वतन्त्रताका लागि हालै भएका आन्दोलनको उद्गम केन्द्र (इपीसेन्टर) विभिन्न विश्वविद्यालयमा छ। प्राज्ञिक र सार्वजनिक बौद्धिकहरूको समर्थनमा आन्दोलनरत यी विश्वविद्यालयका विद्यार्थीहरूले आम जनताको स्थापित मान्यतामा ठोस परिवर्तन ल्याइदिएका छन्।

नागरिकताको मुद्दादेखि वातावरणीय अन्याय र पूँजीवादबारेसम्म विद्यार्थीहरू मुखर भएका छन्। र, उनीहरूलाई त्यसका लागि विचार निर्माण गर्न र निर्भिकतापूर्वक धारणा राख्न विश्वविद्यालयहरूले अवसर सिर्जना गरिरहेछन्।

यो स्वतन्त्र स्थानको पवित्रता र स्वच्छता विनाशर्त कायम राखिरहनु सबैभन्दा महत्वपूर्ण छ। कुनै पनि सामाजिक–राजनीतिक व्यवस्थाको आत्मा प्राज्ञिक स्वतन्त्रता हो भन्ने हामीले विर्सनुहुँदैन। यो स्वतन्त्रतालाई धक्का पुर्‍याउनु वा नष्ट गर्नु आत्मा नै भ्रष्ट बनाउनु हो।

हाम्रा समयका समस्याबारे विश्वविद्यालयहरू संवेदनशील हुँदैनन् भने को हुन्छ ? उत्तर–सत्य भनिने आजको युगमा आफ्ना तमाम विश्लेषणात्मक अस्त्रका साथ सत्य पर्गेल्ने काम विश्वविद्यालयले नगरे कसले गर्छ ?

यदि विश्वविद्यालयहरूले हाम्रो दिगो भविष्यको बाटो देखाउँदैनन् भने कसले देखाउँछ ?

(जयजति सरकार भारतको पश्चिम बंगालमा अवस्थित ‘रजगंज विश्वविद्यालय’को अंग्रेजी विभागमा अध्यापनरत छन्। ‘द वायर’बाट अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)

प्रतिक्रिया दिनुहोस्