इतिहास अनुसन्धानले बनाएको मेरो इतिहास

खोपाको देवता बनाई राणावंशले नेपालमा रजाइँ गर्न थालेको ९८ वर्ष पुग्न पुग्न आँटेको थियो। दोस्रो महासमर शुरु भएको पनि ५ वर्ष पुग्न-पुग्न आँटेको थियो। राणाशासन अङ्ग्रेजको पक्षपाती भएकाले अङ्ग्रेजको पक्षमा गोरखाली सैनिकलाई त्यस महासमरमा लड्न पठाउँदा नेपालका आयुधजीवी जातिमा अर्कै प्रकारको माहौल छाएको अवस्था त्यो थियो।

पश्चिममा शिल्पविद्याको उत्कर्षले त्यसको प्रभाव हाम्रा पठित, अपठित, अल्पपठित र कुपठित सबैमा पर्न गई परापूर्वकालदेखि चलिरहेको रहनसहनमा क्रमशः अश्रद्धा बढ्दै गएको जमाना त्यो थियो। पराईको रहनसहनको ग्रहणले नजानिँदो तवरले परिवर्तन हुँदा संस्कृत र असंस्कृत जातिमा भएको भेदभावमा बिस्तारै-बिस्तारै प्रश्न उठ्न थालेको थियो।

अधिकारको माग मुखर हुँदै गएको थियो भने कर्तव्यजति बिस्तारै ओझेल पर्दै गएको थियो। वृत्तिसाङ्कर्यले मानिसहरू बेरोजगार बन्दै जाने क्रम बढेको थियो। एक प्रकारले त्यो समय युगक्षयको प्रारम्भबिन्दु थियो। यस्तै अवस्थामा आजभन्दा ७५ वर्षअगाडि मेरो जन्म भएको हो।

नेपाल सोझै महासमरमा झोसिएको नभए पनि आफ्ना जानपदले भरौटेको हैसियतले त्यो युद्ध लडेकाले यसको प्रभाव नेपालको अर्थतन्त्र र साहित्यमा पनि देखिएको थियो। नेपाली भाषाकै पुस्तकको आपूर्ति पनि नेपालबाट खास नहुने त्यस अवस्थामा अङ्ग्रेजी शासनको ताबेदारी गरी बसेका साहुजीले दार्जिलिङबाट चिल्ला कागजमा छपाएका गजे घलेजस्ता आयुधजीवीको गाथा गाई उनीहरूलाई आदर्श मान्ने जमानामा म क्रमशः हुर्कदै गएँ। तर, मेरो घरपरिवार र मैले पढेको पाठशाला त्यस्तो सङ्क्रामक अवस्थाबाट दूर थियो।

त्यस्ता साहित्य हामी सूचनाका लागि वा मनोरञ्जनका लागिमात्र पढ्थ्यौँ, ज्ञानवृद्धिका लागि होइन। संस्कृत वाङ्मयको पढाइबाट खास विद्यार्थी जीवनको शुरुवात भयो। मैले पाएको त्यो शिक्षा नेपालमा चलिरहेको शिक्षापद्धतिको विरुद्ध एक प्रकारको बगावत थियो।

संशाोधन मण्डलको कार्यले उचित शिक्षा दिइएको खण्डमा आफ्नो देशको प्रामाणिक इतिहास लेख्न नेपालीहरू आफै समर्थ छन्, त्यसका लागि विदेशीको मुख ताक्नुपर्दैन भन्ने सन्देश गयो।

म साढे छ वर्षको हुँदा राणाशासनको अन्त्य त भयो तर कुन पद्धतिबाट शासन गर्ने भन्ने विषयमा झण्डैझण्डै ७० वर्ष बित्न लाग्दासम्म पनि अन्योल नै छाइरहेकाले जनताले अझ सुशासनको अनुभूति गर्न पाएका छैनन्। पाठ्यक्रमअनुसार काव्य, कोष र व्याकरण पढ्दै जाँदा म राजन्वत् शब्दसँग बारम्बार टकराएँ।

सबभन्दा पहिले रघुवंश (६/२२) मा यो शब्द विदर्भकी राजकुमारी इन्दुमतीको स्वयम्बरको प्रसङ्गमा मैले देखें। मगधका राजाको बयान गर्दा इन्दुमतीकी धाई सुनन्दाले 'काम नृपाः सन्तु सहस्रशोऽन्ये राजन्वतीमाहुरनेन भूमिम्' अर्थात् ‘अरू हजारौं राजा भइरहून, पृथ्वीलाई यिनै राजाद्वारा राजन्वती’ भनिन्छ भनी त्यहाँ लेखिएको छ।

पछि अमरकोष पढ्दै जाँदा 'सुराज्ञि देशे राजन्वान् स्यात् ततोऽन्यत्र राजवान्' (२।१।१३) भन्ने श्लोकार्ध पढियो। असल राजा भएको देश राजन्वान् कहिन्छ, त्यसभन्दा बाहेकको चाहि राजवान् कहिन्छ भन्ने यसको अर्थ हो।

त्यसपछि अष्टाध्यायी पढ्दै जाँदा 'राजन्वान् सौराज्ये' (८।२।१४) भन्ने सूत्र पढियो। असल राजा भएको देशलाई बुझाउँदा राजन्वान् शब्दको प्रयोग हुन्छ भन्ने त्यसको अर्थ हो। त्यसैले 'राजन्वान् देशः, राजन्वती भूमिः' जस्ता शब्द सुशासनयुक्त देशको नाउँमा प्रयोग हुने गरेको देखिन्छ। यति लामो अवधिसम्म पनि जनताले सुशासनको अनुभूति गर्न नसकेको देख्दा हाम्रो देश राजवान हो, राजन्वान होइन भन्ने निष्कर्षमा म पुगेको छु।

देश, काल र स्थिति प्रतिकूल भए पनि युगान्तकारी काम त्यस्तै अवस्थामा हुन्छ भन्ने कुरा इतिहासको परिशीलनबाट थाहा हुन्छ। पछि संशोधन-मण्डल भनी कहिएको, हाम्रो पाठशालाको काम पनि त्यस्तै थियो।

कुनै पूर्वाधार खडा नगरी खालि पठनपाठन र अन्वेषणको काम संशोधन-मण्डलबाट जे-जति भयो, त्यसले नेपालको इतिहासका कैयन् अज्ञात र अल्पज्ञात कुरा प्रकाशमा ल्याइदियो। त्यसले गर्दा नेपालको एकसरो इतिहास तयार भयो।

त्यसबाट त्यसभन्दा पनि ठूलो काम के भयो भने, उचित शिक्षा दिइएको खण्डमा आफ्नो देशको प्रामाणिक इतिहास लेख्न नेपालीहरू आफै समर्थ छन्, त्यसका लागि विदेशीको मुख ताक्नुपर्दैन भन्ने सन्देश गयो। यताबाट विद्याको एउटा सानो हाँगामा भए पनि नेपाल परमुखापेक्षी हुनुपरेन र यही नजीरको अनुशरण गर्ने हो भने, विद्याका केही हाँगाबिंगामा नेपाल स्वतन्त्र हुन सक्छ भन्ने देखिन गयो।

मैले जे-जति अन्वेषण गरें, लेख र पुस्तकहरू प्रकाशित गरे, ती सब सुविधा पाएर गरेको होइन। खालि आत्मसन्तुष्टिका लागि कति ठाउँमा त आफ्नै पैसा खर्च गरी गरेको हुँ। अघि बढी साथी बनाउने मेरो बानी नभएकाले र शासनको बागडोर लिने वा तिनीहरूको चक्रको सेवा गर्ने इच्छा पनि आफ्नो नभएकाले मैले जे-जति गरे, आफ्नै निजी बलबुताले गरेको हुँ भन्दा त्यतिविधि फरक पर्दैन।

'सर्वान् परित्यजेदर्थान् स्वाध्यायस्य विरोधिनः।

यथा तथा यापर्यस्तु सा यस्य कृतकृत्यता ॥'

(मनुस्मृति ४/१७)

अर्थात्, आफ्नो पठनपाठनसँग विरोध पर्ने सबै कुरा छाडिदिनू। जसोतसो गरेर जिन्दगी काट्नू। उसको सफलता भनेको यही हो।

यही विचारको अनुशरण गरी, कसैलाई मालिक नमानी, दायाँबायाँ तलमाथि कतै आँखा नलाई, जनसम्पर्क नगरी, कुनै प्रकारको गुटबन्दी नगरी, आफ्नो कामको डम्फू बजाउनेजस्ता हल्लाखल्ला नगरी, आफ्नो निजी पैसा खर्च गरी एक सूरले म काम गर्दै गएँ।

मैले जहिले पनि पैसालाई साध्य र विद्यालाई साधन बनाउने काम नगरी यसको ठीक उल्टो अर्थात विद्यालाई साध्य र पैसालाई साधन बनाई काम गरेकाले विद्वान् किंवा बुद्धिजीवीहरूको माझ मेरो स्थिति विचित्र छ। ‘सम्मानाद् ब्राह्मणो नित्यमुद्विजेत विषादिव’ अर्थात् विद्वानले सम्मानबाट बिखसँग जस्तै बिच्कनुपर्छ भन्ने सूक्तिको अनुशरण गरी पारितोषिकले मलाई अलङ्कृत गर्ने प्रस्ताव आकलझुकल आउँदा पनि म त्यतातिर आकृष्ट भइन।

लामो कालसम्म इतिहासप्रधान पत्रिका 'पूर्णिमा'मा शास्त्रीय ढङ्गले अन्वेषणात्मक लेख प्रकाश गरे पनि त्यस्ता लेख पढ्न सक्ने मानिसको सङ्ख्या झन्झन् घट्दै गएकाले तल्लो तहसम्म ज्ञान कसरी फैलाउने भन्ने चिन्ताले म ग्रस्त हुँदै गइरहेको थिएँ। यत्तिकैमा १५ दिनमा एउटा लेख प्रकाश गर्ने अवसर मलाई राजधानी दैनिकमा मिलेकाले मैले लगातार पाँच वर्ष सात महिनासम्म त्यो काम गरे। यताबाट जनसाधारणमा मेरो खोजी र विचारको चर्चा हुन थाल्यो र म सामान्य मानिसमा पनि चिनिदै गएँ। यही क्रममा अन्नपूर्ण पोष्ट, कान्तिपुर, गोरखापत्र, नागरिक, नेपाल साप्ताहिक, रिपब्लिकामा पनि मेरा लेख छापिए। विभिन्न पत्रिकामा मेरो विचारको प्रसारण हुने गरी पत्रकारहरूसँग गरेको कुराकानी प्रकाशित हुन थाले। यसले गर्दा गम्भीर ग्रन्थ नपढ्ने, अखबारमात्र पढ्ने समाजमा पनि म चर्चित हुन थालेजस्तो लाग्छ।

पत्रपत्रिकाले गर्दा नै जनसाधारणमा म परिचित हुँदै गएको महसुस गरेर जनमतको कदर गर्दै जनस्तरबाट स्थापित ‘पद्मश्री साधना सम्मान' मैले स्वीकार गरेको हुँ।

(पद्मश्री साधना सम्मानबाट सम्मानित इतिहासकार डा. महेशराज पन्तले आज आयोजित पुरस्कार वितरण समारोहमा दिएको मन्तव्य। यो मन्तव्य ‘खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ले प्रकाशन गरेको स्मारिका २०७६बाट साभार गरिएको हो।)

प्रतिक्रिया दिनुहोस्