सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन पत्रकार महासंघकाे आग्रह
<p>काठमाडाैं। नेपाल पत्रकार महासंघले कोभिड-१९ को संक्रमण फैलन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा सुरक्षित ढंगले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह गरेको छ।</p>
<p>महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहज परिस्थितिका बीच अनेकौं कठिनाइ र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्त्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएका छन्।</p>
<p>संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढङ्गबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरूपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।</p>
<p>विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्