चिनियाँ सरकारको निर्देशनपछि सुचारु हुने प्रक्रियामा तातोपानी नाका

काठमाडौं। चीनको केन्द्रीय सरकारले तत्काल सञ्चालनमा ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि वुहानमा महामारी शुरू भएयता बन्द भएको तातोपानी नाका खुल्ने भएको छ।

कोभिड–१९ महामारीसँग जुध्न नेपाललाई चाहिने अत्यावश्यक स्वास्थ्य तथा खाद्यान्नका सामग्री पठाउन नाका सञ्चालनमा ल्याउन चीन सरकारले निर्देशन दिएको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनले आफ्नो स्थानीय प्रशासनलाई उक्त निर्देशन दिएको हो।

वुहान शहरबाट कोभिड–१९ फैलिन शुरू भएपछि तीन महीना चीनले सबै अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो।

आफैंले बन्द गरेको नेपाल–चीन व्यापारिक नाका पुनः सञ्चालन गर्न चीन सरकारले नेपाललाई पटक÷पटक आग्रह गर्दै आएको थियो।

चीनमा महामारी नियन्त्रणमा आएपछि १२ चैतमा सरकारले चीनतर्फका व्यापारिक नाका सञ्चालनमा ल्याउने निर्णय गरिसकेको भए पनि तातोपानी नाका सुचारु भएको थिएन।

अहिले भने चीन सरकार नै अग्रसर भएर नाका सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले भने, “चीनले आफ्नो स्थानीय प्रशासनलाई नाका छिटो सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको छ।”

तातोपानी नाकाका भन्सार प्रमुख लालबहादुर खत्रीले चीनतर्फको भन्सार सुचारु गर्न निर्देशन भइसकेको जानकारी पाएको बताए।

“सोही निर्देशनअनुसार चीनियाँ पक्षले स्थास्थ्य लगायत अन्य सामग्री नेपाल पठाउने योजना बनाइरहेका छन्”, उनले भने।

चीनियाँ टोलीले अबको केही दिनमा कार्य योजना बनाउने र नेपाललाई छलफलमा बोलाउने सम्भावना रहेको उनको भनाइ छ।

तातोपानी नाकाबाट सामान नेपाल ल्याउँदा दुवैतर्फका मानिसले एकअर्कालाई भने नभेट्ने रणनीति बन्ने सम्भावना रहेको छ।

उक्त रणनीतिअनुसार काम गर्दा सामान लिन चीन जाने नेपाली चालकले चीनियाँ कर्मचारी÷व्यवसायी भेट्न पर्नेछैन। यसरी काम गर्दा नेपाली नागरिक १४ दिन क्वारेन्टाइन बस्न नपर्ने बताइएको छ।

हाल चीनसँगको व्यापारिक नाका र नियमित हवाई उडान बन्द हुँदा नेपाललाई आवश्यक पर्ने स्वास्थ र खाद्यान्नका सामग्री आयात गर्न समस्या भइरहेको छ।

सडकमार्ग र हवाई उडान बन्द हुँदा चीनबाट प्लेन चार्टर्ड गरेर सामान ल्याउनपर्ने र त्यसरी सामान ल्याउँदा ३० प्रतिशतसम्म मँहगो गर्ने व्यवसायीहरूले बताएका छन्।

पढ्नुहोस्

चिनियाँ नाका खोल्न दबाब दिने व्यवसायी नाका खुलेपछि सम्पर्कमै आएनन्

प्रतिक्रिया दिनुहोस्