ललितपुर महानगरपालिकालाई एन्फाले दियो दुईवटा एम्बुलेन्स

काठमाडौं। कोभिड-१९ महामारीविरुद्ध लड्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज ललितपुर महानगरपालिकालाई दुईवटा एम्बुलेन्स हस्तान्तरण गरेकाे छ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई उनकै कार्यालयमा एम्बुलेन्सको चाबी हस्तान्तण गरेका हुन्।

कोभिड-१९ महामारी सामान्य अवस्था फर्किएपछि महानगरपालिकाले पुनः एन्फालाई एम्बुलेन्स फिर्ता गर्नेछ। ललितपुरका मेयर महर्जनले संकटको बेला गरेको सहयोगका लागि एन्फालाई धन्यवाद दिए।

कोभिड-१९ महामारीका कारण ४ चैतबाट नेपालमा सम्पूर्ण गतिविधि स्थगित भएको छ। फागुन अन्तिममै एन्फाले नयाँ प्रतियोगिता नगर्ने जनाएको थियो। तर, ४ चैतबाट एन्फाले सचिवालयसमेत बन्द गर्ने निर्णय गरेको थियो।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको फिफा फरवार्ड फण्डमार्फत् एन्फाले एम्बुलेन्स लिएको थियो। अहिले सम्पूर्ण खेल गतिविधि ठप्प भएका कारण एम्बुलेन्स प्रयोगमा थिएन।

एन्फाले कोभिड-१९ महामारीको जोखिम न्यूनीकरण गर्न सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन बनाउनका लागि आफू मातहत रहेका भौतिक संरचना प्रयोग गर्न दिने जनाएको थियो। अहिले प्रदेश २ को रौतहटस्थित महिला फुटबल एकेडेमी क्वारेन्टाइनको रूपमा प्रयोग भएको छ।

एन्फाले आवश्यक परे सातदोबाटोस्थित मुख्यालयमा रहेको होस्टेल, बुटवल, धरानमा रहेको एकेडेमीलाई पनि प्रयोग गर्न सकिने बताएको छ।

ललितपुर महानगरपालिकाले पनि यसअघि एन्फाकै आग्रहमा त्यस क्षेत्रका क्लबलाई बर्सेनि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्